राजर्षी जनक स्ववियु निर्वाचन : युवा सञ्जालको आडमा राजनीतिक दलको प्रचार !

जनकपुरधाम । मधेश प्रदेश युवा सञ्जालको लोगो दुरुपयोग भएको पाइएको छ । राजर्षी जनक विश्वविद्यालयमा साउन १७ गते हुन गइरहेको स्ववियू निर्वाचनलाई मध्यनजर गर्दै सञ्जालले मंगलबार ‘निर्वाचनको उम्मेदवारहरुसँग खुल्ला सडक बहस’ कार्यक्रमको आयोजना गरेको थियो । तर उक्त बहस कार्यक्रममा एउटा मात्रै उम्मेदवारलाई बोलाई कार्यक्रमको माध्यमबाट भोट माग्दै युवा सञ्जालको लोगो दुरुपयोग गरेको पाइएको हो ।
सञ्जालका अध्यक्ष नयुम राइनले कुनै उम्मेदवार विशेषको भोट माग्ने उद्देश्य तथा मनसायले नै कार्यक्रम आयोजना गरेको भनि युवा सञ्जालको चौतर्फी आलोचना भइरहेको छ ।
मधेश प्रदेश युवा सञ्जालले कार्यक्रमलाई उम्मेदवारहरुसँग खुल्ला बहस भने पनि बहसमा एउटा प्यानलका उम्मेदवारलाई मात्रै सहभागि गराइएको थियो । बहस कार्यक्रममा संयुक्त विद्यार्थी प्यानल तर्फबाट प्रतिस्पर्धामा रहेका श्याम शाहको मात्रै सहभागिता देखिएको थियो । श्याम साह नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियन तथा नेकपा एस निकट अनेरास्ववियूको साझा उम्मेदवार हुन् ।
कार्यक्रममा सहभागिता बारे नेविसंघका उम्मेदवार त्रिलोक यादवले कुनै उम्मेदवार विशेषको प्रचारप्रसार गर्ने उद्देश्यले अपरझट् कार्यक्रमको आयोजना गरि अन्य प्रतिस्पर्धी उम्मेदवारलाई कार्यक्रम बारे स्पष्ट जानकारी समेत नगराएको बताए । उनले भने,–‘करिब ३ बजे फोन आएको थियो । तर कार्यक्रम कति बजे कहाँ भन्ने जनकारी समेत गराईएन ।’
लोकतान्त्रिक विद्यार्थी संगठनका प्रतिस्पर्धी प्रवेश यादव भन्छन्,–‘यस बारेमा मलाई फोन आएको थियो तर आयोजकले नै संयुक्त विद्यार्थी प्यानलको लागि वकालत गरेको थाहा पाउँदा पाउँदै कसरी जाने ? उनले प्रश्न गरे ।
अर्का प्रतिस्पर्धी जनमत विद्यार्थी संघका उम्मेदवार शशिकान्त मण्डलले बहस सुरु भएपछि साथीहरुबाट जानकारी पाएको नागरिक मिररलाई बताए । उनका अनुसार बहस सुरु भइसकेपछि विद्यार्थीहरुले अन्य दलका उम्मेदवार खोज्दा आफुलाई फोन आएको बताए । ‘म घरदैलो कार्यक्रमको रुपमा विद्यार्थीहरुसँग मत माग्दै थिए ।’ उनी भन्छन्,–‘अचानक फोन आयो म भ्याउदिन भने । कार्यक्रम हुनु अगावै आउनु पर्ने जानकारी कार्यक्रम सुरु भएपछि गराए कसरी जानु ?’

आयोजक रहेको मधेश प्रदेश युवा सञ्जालका अध्यक्ष राइन आफैँ पनि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध छन् । उनले यो कार्यक्रम आयोजना गर्नुपुर्व नै आफ्नो सामाजिक सञ्जालको माध्यमबाट आफ्नो निकट पार्टीको विद्यार्थी संगठनलाई जिताउन आग्रह गरेका थिए । साँथै उनले कार्यक्रममा वक्ताको रुपमा निम्ताएका अभियन्ता भनिने रक्की प्रसाद साह पनि यो प्यानलका लागि सामाजिक सञ्जालबाट मत मागेका थिए । रक्की साह पनि नेकपा एस निकट छन् । उनले यसमा अन्य उम्मेदवार सहभागि नभएको भन्दै टिप्पणी सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
यसरी राजनीतिक दलमा खुलेका तथा प्रदेश सरकारकै अनुमतिमा गठित मधेश प्रदेश युवा सञ्जालका अध्यक्ष राइनले सञ्जाललाई दुरुपयोग गरेको मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयकी अधिकृत निशा कर्णले बताइन् । उनी भन्छिन्,–‘प्रदेशले मान्यता दिएको संस्था हो । यसरी उम्मेदवार विशेषको प्रचार गर्ने उद्देश्यले संस्थाको लोगोलाई दुरुपयोग गर्न हुदैन । यसमा मन्त्रालयले कुरा बुझी कारवाही प्रक्रिया अगाडी बढाउँछ ।’
युवा अभियन्ता दिवाकर उप्रेती भन्छन्,–‘युवा सञ्जाल स्वतन्त्र संगठन हो । यसले युवाहरुको हकहितमा काम गर्नुपछ । कुनै पार्टी वा उम्मेदवार विशेषको प्रचारप्रसार गर्नु समग्र युवा सञ्जालको काम कर्तव्यमाथी प्रश्न चिन्ह खडा गर्नु हो ।’ उनले चुनाव लोकतन्त्रको सुन्दर पक्ष भएको र यसमा स्वच्छ प्रतिस्पर्धा हुन दिनुपर्ने बताए ।