बजेट अभाव हुँदा क्षिरेश्वरनाथ सर्पदंश उपचार केन्द्र समस्यामा
जेनेरेटरको अभावमा दाईजी देवीको ज्यान गयो

जनकपुरधाम । २०८१ असार १५ गते साँझ करिब ७ बजे बटेश्वर गाउँपालिका वडा नम्बर ४ प्रेमपुरका ५७ वर्षीया दाईजी देवी दासलाई घरको आगंनमा गहुमन सर्पले टोक्यो । उपचारको लागि उनलाई क्षिरेश्वरनाथ सर्पदंश उपचार केन्द्रमा ल्यायो । त्यस बखत लाईन कटेको थियो । जेनेरेटरको अभावमा उनको उपचार त्यहाँ सम्भव नएपछि केहीबेरमै चिकित्सकले त्यहाँबाट जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रेफर गर्यो । तर, अस्पताल पुग्न नपाउँदै क्षिरेश्वरनाथ नगरपालिका ४ हरैया नजिक उनले प्राण त्यागे ।
उनलाई अर्को अस्पतालमा लगेको भए ज्यान जोगिन्थ्यो कि भनेर अहिले पछुतो लागि रहेको छ । “नजिकै त्यही अस्पताल थियो, त्यसैमा सर्पदंश उपचार केन्द्र भनेपछि अरू ठाउँभन्दा त्यही लग्दा ज्यान बचाउन सजिलो होला भनेको तर त्यही हाम्रो भूल भएछ”, मृतकका भाई वीरेन्द्रकुमार दास भन्छन्, “सायद यस्तै हुनुरहेछ, त्यही बेला बत्ती गयो र हामीलाई दुःख पर्नु एकैपटक भयो । विद्युतको अर्को विकल्प भएको भए यस्तो हुँदैन थियो कि !”
अहिले तराई मधेसमा अत्यधिक गर्मी छ सँगै पानी पर्ने मौसम पनि । अत्यधिक गर्मी र पानी परेसँगै यस भेगमा शर्पको बिगबिगी पनि बढेको छ । शर्पको बिगबिगी बढेपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित क्षिरेश्वरनाथ सर्पदंश उपचार केन्द्रमा दैनिक सर्पदंशका बिरामीहरु उपचारका लागि आउने संख्या बढ्दो छ । तर, उपचार केन्द्रमा सर्पदंशका विरामीका लागि अति महत्वपूर्ण एन्टिस्नेक भेनम र औषधीको अभाव छ ।
बजेटको अभावले यहाँ औषधीको अभाव मात्रै होईन बिरामीको लागि अत्यावश्यक अन्य सेवा, बिजुली बत्तीको महसुल, कर्मचारीको तलब, सरसफाईकर्मीको तलब, प्राविधिकको खाजा खर्च लगायतका व्यवस्थापन नहुँदा त्यहाँबाट प्रवाह हुने निःशुल्क उपचार सेवा बन्द हुने अवस्थामा पुगेको छ । र यसले गर्दा सर्पदंशका बिरामीहरु उपचार नपाउँदा अकालमै ज्यान गुमाउनु परेको उपचार केन्द्रका संचालक समितिका अध्यक्ष राजकिशोर राउत बताउछन् ।
२०७७ मंसिर २६ गतेदेखि संचालनमा आएको २२ शैय्याको यो अस्पतालबाट ९ सय ४१ जनाले निःशुल्क उपचार गराईसकेको उपचार केन्द्रका प्रशासन प्रमुख बसन्त यादवले जानकारी दिए । जसमध्ये ३६ जना यसै साउन १ देखि हालसम्मका रहेका छन् ।
क्षिरेश्वरनाथ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ( युएनडिपी) को संयुक्त सहयोगमा २ करोड बढीको लागतमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको अस्पताल बजेट परखाईमा छ । जसका कारण अस्पताल सञ्चालन गर्न कठिनाई भईरहेको अध्यक्ष राउत बताउछन् ।
स्थापना भएपछि संचालनको लागि व्यवस्थापन समिति, राजनितिक दल र नेपाली सेनाबीच ९ बुँदै सहमति भयो । सहमतिको बुँदा नम्बर ४ मा नेपाली सेनाका प्राविधिकको प्रतिवेदन अनुसार स्थानीय निकाय र व्यवस्थापन समितिले बजेटको श्रोत जुटाउने र अस्पताल व्यवस्थापन गर्ने सहमति भएको थियो । तर, अहिले त्यहाँ राजनीतिकरण हुँदा स्थानीय निकायले बजेट नदिँदा अस्पताल सञ्चालनमा कठिनाई भएको अध्यक्ष राउतले बताए ।
अस्पतालमा प्राविधिक सहयोग नेपाली सेनाले निःशुल्क रुपमा गर्दै आएका छन् । तर, सेनाका प्राविधिकलाई दिईनुपर्ने खाजा र सरसफाई वापतको खर्च पनि उपलब्ध गराउन नसक्दा अझ समस्या हुने गरेको उनले बताए ।
अस्पतालमा सहयोगका लागि क्षिरेश्वरनाथ नगरपालिकाका कार्यपालिका बैठकमा पटक पटक प्रस्ताव भएपनि सहयोग नभएको उनी बताउँछन् । कार्यपालिका सदस्य दिपक साह भन्छन्,–एक पटक त बजेट दिने निर्णय नै भएको थियो । पछि के भयो आर्थिक वर्ष बित्यो । अस्पताललाई बजेट दिईएन ।
अध्यक्ष राउतका अनुसार अस्पतालमा कहिबाट बजेटको जोहो नहुँदा १ वर्षभन्दा बढी समयदेखि विजुली बिल तिरिएको छैन् । जसले गर्दा पटक पटक विद्युत प्राधिकरणले लाईन काटिदिने चेतावनी नै आईसकेको अध्यक्ष राउतले बताए । विद्युत महसुल छिट्टै तिरिदिने आश्वासन दिएपछि प्राधिकरणबाट लाईन नकाटिएको उनले बताए ।
‘यहाँ निम्न वर्गका सर्पदंशका बिरामीहरु उपचार गराउन आउँछ । तर औषधी, एन्टिस्नेक भेनम, जेनेरेटर तथा उपचारका लागि उपरकरणका सामग्रीहरुको अभावमा हामीलाई उपचार गर्न कठिनाई भईरहेको । बजेटको अभावमा अस्पतालको अवस्था नाजुक बन्दै छ। सर्वसाधारणलाई निकै अप्ठयारो भोग्नुपरेको छ, अध्यक्ष राउत भन्छन्, पटक पटक स्थानीय सरकार, प्रदेश सरकारका मुख्यमन्त्री, स्वास्थ्यमन्त्री लगायतकालाई सहयोगका गुहार गरेपनि कुनै सहयोग भएको छैन् ।’ उपचारका खरिद भएको मेसिनहरु पनि मर्मतको अभावमा बिग्रिन थालेको अध्यक्ष राउतले बताए ।
यता गत आर्थिक वर्षमा लक्ष्मीनियाँ गाउँपालिका र बटेश्वर गाउँपालिकाबाट २÷२ लाख सहयाग र स्वास्थ्य आपूर्ति केन्द्र, जनकपुरधामबाट केही औषधीहरु सहयोग भएपछि जसोतसो अस्पताल चलिरहेको उनले बताए ।
यस अस्पतालबाट धनुषाका मिथिला नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, धनुषाधाम नगरपालिका, महोत्तरीका भंगहा नगरपालिका लगायतका बिरामीहरुले सेवा लिने गरेका छन् ।






