‘मिथिला थाली’ को बासी खानाले ग्राहक बिरामी परेपछि…

आरोप प्रत्यारोपमा संचालक र ग्राहक

काठमाडौँ । मिथिला मधेशको लोकल तथा घरायसी स्वाद दिने भनि खुबै प्रचार गरेर खोलिएको ‘मिथिला थाली’ ले सर्वसाधारणको स्वास्थ्यसँग सिधा खेलवाड गरिरहेको खुलेको छ । बीबीसी ‘मास्टर सेफ द प्रोफेसनल २०२०’ का उपविजेता भनेर खुबै प्रचारप्रसार गरि सेफ सन्तोष साहले संचालन गरिरहेको ‘मिथिला थाली’ होटेलमा सर्वसाधारणहरुलाई बासी तथा गुणस्तरहीन खाना खुवाईरहेको गुनासो खाना खान पुगेका ग्राहकहरुले गरेका छन् ।

ललितपुरको झम्सीखेलस्थित ‘मिथिला थाली’ होटेलमा खाना खाएर फर्केकाहरुले होटेलमा बासी तथा गुणस्तरहीन खाना खुवाएकै कारण विरामी परेको एकजना साथी र श्रीमती सहित त्यहाँ खाना खान पुगेको विराट यादवले गुनासो गरेका छन् । उनले गुणस्तरहीन खाना खुवाएकै कारणले श्रीमती, आफैँ स्वयं र साथी समेत तीनैजना एकैचोटी विरामी परेको उनले बताए ।

बीबीसी ‘मास्टर सेफ द प्रोफेसनल २०२०’ मा भाग लिएर उपविजेता बनेका साह एकाएक चर्चित भएपछि नेपाल आएर पारम्परिक शैलीका लागि भन्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा ‘मिथिला थाली’ होटेल सञ्चालनमा ल्याए । त्यहाँपछि राजधानी काठमाडौँको गौशाला, गैरीधारा तथा ललितपुरको झम्सीखेलस्थित त्यसको फ्रेन्चाइजी ‘मिथिला थाली’ नामकै होटेल सञ्चालनमा ल्याए । सुरुसुरुमा राम्रो व्यवस्थापन रहेको उक्त होटेलको पछिल्लो समय गुणस्तरीयता खस्केको गुनासो बढ्न थालेको छ ।

गत बुधबार एकजना साथी सहित श्रीमान श्रीमती खाना खान पुगेका यादवले आफूहरुलाई बासी तथा गुणस्तरहीन खाना खुवाएको र सोही खाएर तीनैजना एकैचोटी विरामी परेको गुनासो पोखेका हुन्् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,–‘सर्वसाधारणको स्वास्थ्य सँग खेलवाड गर्ने मिथिला थाली बाट सावधान । बासी, कुहिएको तथा पुरानो खाना खुवाएर मिथिला थालीले आम सर्वसाधारणलाई बिरामी पर्न बाध्य पारिरहेका छन् । दिउसोकै उब्रेको भातमा घ्यू मिसाएर तताइ रातिमा समेत ग्राहकलाई खाना खुवाउने गरिएको छ । त्यस्तै च्याउको तरकारी, आलुको चोखा लगायत समेत दिउँसो उब्रेकोलाई राति र राति उब्रेकोलाई दिउँसो प्रयोगमा ल्याउने गरिएको छ । त्यस्तै बिरियाहरु समेत धेरै नै पुरानो पुरानो तथा सडे गलेको प्रयोगमा ल्याउने गरिएको छ । उक्त खाना खाएर धेरै मान्छे बिरामी परिरहेका छन् । म स्वयम् आफैँ पनि झम्सीखेलस्थित मिथिला थालीको खाना खाएर तीन दिनदेखि बिरामी परेर अस्पताल नै भर्ना हुनुपरेको अवस्था छ । चिकित्सकका अनुसार समेत अखाद्य वस्तुको खानाले गर्दा फुड प्वाइजन भएको रहेछ । तसर्थ अब उपरान्त सबैजना सचेत र सावधान हुनुहोला । मानव स्वास्थ्यसँग खेलवाड गर्ने मिथिला थालीमा पकाइने प्रकारको गुणस्तरीयता जाँच होस ।’

यस्ता गुनासोहरु पटक–पटक आए पनि व्यवस्थापकले समयमा ध्यान दिएको देखिदैन । उल्टै गुनासो पोख्नेहरुलाई सामाजिक सञ्जालमा सेफ साह स्वयं आफैँ अपशब्द प्रयोग गर्दै गाली गरिरहेको देखिन्छ । सेफ साहसहित केही फेक अकाउन्टबाट गुनासो पोख्नेहरुलाई अपशब्द प्रयोग गर्दै गाली गरिरहेका छन् ।

निजले यो पहिलो पटक होईन पटक पटक ग्राहकले गुनासो गरेपछि आफ्नो कमजोरी स्वीकारेर समस्या समाधान गर्नुको साटो उल्टै ग्राहकलाई नै अपमान गर्ने गरेको देखिन्छ ।

दिउँसोकै उब्रेको भातलाई तताइ माथीबाट घ्यू हालेर फ्रेस जस्तो बनाउने गरेको तथा च्याउको तरकारी, आलुको चोखा लगायत दउँसो उब्रेकोलाई राति र राति उब्रेकोलाई दिउँसो प्रयोगमा ल्याउने गरिएको त्यहाँ खान खान पुगेकाहरु बताउँछन् । त्यस्तै बिरियाहरु समेत धेरै नै पुरानो पुरानो तथा सडे–गलेको प्रयोगमा ल्याउने गरिएको उनीहरु भन्छन् ।

यस्तै अर्का एकजना ग्राहक ललेन्द्र यादवले पनि त्यहाँ खाना खादा बिरामी भएको बताउछन् । उनी भन्छन्-एकचोटी म त्यहा खादा बिरामी भए। त्यस दिनदेखि म त्यहाँ जान छोडे।

बासी, कुहिएको तथा पुरानो खाना खुवाएर मिथिला थालीले आम सर्वसाधारणलाई बिरामी पर्न बाध्य पारिरहेका छन् ।

‘मिथिला थाली’ झम्सीखेलका म्यानेजर विशाल थापाले वहाँहरु हाम्रो रेगुलर कष्टमर रहेको स्वीकार गर्दै आफूहरुबाट त्यस्तो कुनै त्रुटी नभएको दाबी गरे । थापाले भने,–‘दैनिक करिब चार सयको हाराहारीमा यहाँ खाना खान्छन् । वहाँहरु तीनजनालाई मात्रै कसरी त्यस्तो भयो ? स्वास्थ्य जस्तो संवेदनशील विषयमा हामी अत्यन्तै गम्भीर छौँ । हामी यस विषयमा जाँचबुझ गर्दैछौँ । तर हाम्रो तर्फबाट त्यस्तो त्रुटि नभएकोमा हामी ढुक्क छौँ ।’

म्यानेजर थापाले आफूहरुले ग्राहककोे चापका कारण दिनकै तीन/चार चोटी खाना पकाएर पनि भ्याउन सक्ने अवस्था नरहेकोले बासी खाना खुवाएको सवाल नै उत्पन्न हुन नसक्ने दाबी गरे ।

प्रतिक्रिया
नागरिक मिरर