राष्ट्रिय मुक्ति क्रान्तिको २५०१ सदस्यीय महासभा

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिले दुई हजार पाँच सय एक सदस्यीय महासभाको घोषणा गरेको छ । राष्ट्रिय मुक्ति क्रान्तिका लागि शुक्रबार संयोजक राजेन्द्र महतोले सो महासभाको घोषणा गरेका हुन् ।
राजेन्द्र महतोको संयोजकत्वमा राष्ट्रिय मुक्ति क्रान्तिका लागि घोषणा गरिएको महासभामा बाँकी सबैलाई अहिले सदस्यको रुपमा राखिएको छ । राष्ट्रिय मुक्ति क्रान्ति पार्टीको रुप नलिएसम्म वा पार्टी दर्ता दर्ता नभएसम्म संयोजक बाहेक अरू सबै सदस्य रहनेछन् ।
क्रान्ति सफल बनाउन संगठन निर्माण स्वरुप महासभा घोषणा गरिएको संयोजक महतोले बताए । उनले संगठनको आभावमा कुनै पनि तयारी परिणाममुखी बन्न नसक्ने भएकाले संगठन निर्माणमा जोड दिएको बताए ।
शुक्रबार घोषणा गरिएको महासभाले एउटा सम्मेलनको आयोजना गरी मुलुकको वैकल्पिक शक्तिको रुपमा छिट्टै एउटा पार्टी निर्माण गर्ने राष्ट्रिय मुक्ति क्रान्तिका नेता संतोष मेहताले जनाएका छन् । पार्टी बने पनि राष्ट्रिय मुक्ति क्रान्ति एउटा अभियानको रूपमा रहिरहने उनले बताए ।
नेता मेहताका अनुसार महासभा अन्तर्गत विभिन्न परिषद्हरू रहनेछन् । अहिले ती परिषद्हरुको पनि संयोजक मात्र रहने र बाँकी सबै सदस्यको रुपमा रहनेछ ।
यस बाहेक भूगोल कमान्ड, ब्युरो, विशेष ब्युरो तथा भातृ संठनहरूको संयोजक बनाउने तयारी भइरहेको छ । भूगोल कमान्ड, ब्युरो, विशेष ब्युरो, भातृ संठनमा पनि अहिलेलाई एक–एक जना संयोजक मात्र रहने र बाँकी अरू सबै सदस्यमा रहने नेता मेहताले बताए ।
संयोजक महतोले राष्ट्रिय मुक्ति क्रान्ति सफल बनाउन विचारलाई प्रधान बनाएका छन् । विचारले परिपक्व नभएसम्म कुनै पनि आन्दोलन सफल हुदैन भन्दै उनले पछिल्लो मधेस आन्दोलनलगायत विभिन्न आन्दोलन सफल नहुनुको मुख्य कारण त्यसैलाई मानेका छन् ।
राष्ट्रिय मुक्ति क्रान्तिको बलमा नेपाललाई बहुलराष्ट्रिय राज्य संरचनाको सामुदायिक समाजवादी व्यवस्थामा रुपान्तरण गराउने महतोले दाबी गरेका छन् । महतोले काँग्रेस र कम्युनिष्टलाई पुँजीपति दलालको संज्ञा दिएका छन् ।
नेपालमा संविधान जारी भए पनि त्यसले नेपाली जनताको समस्या समाधान नगरेको भन्दै महतोले फेरि पनि नेपालमा अर्को राजनीतिक विद्रोहको गुञ्जायस जीवितै रहेको र सो विद्रोहलाई पार्टीको दस्ताबेजमा ‘बहुलराष्ट्रिय विद्रोह’ भनेका छन् ।






