कमलामा नयाँ पुलका लागि दशजना आमरण अनसनमा

जनकपुरधाम । मधेसको लाइफलाईन मानिने बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माण योजनाको अधिकांस कार्य सम्पन्न भएपनि कमलामा बनेको पुल सुचारु हुन सकेको छैन ।
निर्माण कार्य सकेर ठेकेदारले हस्तान्तर गर्न नभ्याउँदै बाढीले पुल भासिएको थियो । त्यसयता विभिन्न कोणबाट ताकेदा भएपनि सुनुबाई नभएपछि बाध्य भएर केही अभियन्ताहरु सामुहिक आमरण अनसनमा बसेका छन् ।
ईन्जिनियर प्रविण कुमार यादव नेतृत्वको टोली मंगलबारदेखि जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडी आमरण अनसन बसेको हो । अनसनमा दशजना सहभागी छन् ।
हुलाकी सडक अन्तरगत कमला पुल निर्माण संघर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका ईन्जिनियर प्रविण कुमार यादवको नेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादव, वडा नम्बर ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्र कुमार यादव, बल्र्ड फर नेपालका मनिष कुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का सदस्य ईन्जिनियर रुपेश यादव र ईन्जिनियर शिवशंकर यादव, औरही गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जीवछ यादव आमरण अनसनमा बसेका हुन् ।
गत साउन २७ गते पुल निर्माणका लागि मधेश प्रदेशका मुख्यमन्त्रीलाई एक सुत्रीय माग राख्दै ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापन पत्र बुझाउँदै उनीहरुले माग पुरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । सोही अनुरुप सरकारको तर्फबाट ७ दिनमा कुनै किसिमको चासो नदेखिएपछि सामुहिक अनसन बस्नुपरेको संघर्ष समितिका संयोजक यादवले बताए ।
करिब १३ वर्ष अघिदेखि निर्माणधिन कमला नदीको पुल सञ्चालनमा नआउँदै भाँसिएपछि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । जीउज्यानको जोखिम हुने भएकोले नदीमा नयाँ पुल तत्काल निर्माण हुनुपर्ने अनसनकारीको माग छ ।

संघर्ष समितिका संयोजक यादवले प्रदेशसँगै केन्द्र सरकारलाई कमला पुल निर्माणका निम्ति बजेटको सुनिश्चितता गरी पुल निर्माणको वातावरण बनाउन आमरण अनसनमा बस्नुपरेको बताए ।
‘हामीले ७ दिनभित्रै पुल निर्माण नै गरिदिने भनेका छैनौं, त्यो सम्भव पनि छैन् र त्यो हाम्रो माग पनि छैन्, संयोजक ईन्जिनियर यादव भन्छन्, तथापि ज्ञापन पत्र बुझाएको ७ दिनभित्र सरकारले यस विषयलाई प्राथमिकतामा राखेको भए केही ठोस निष्कर्ष निस्किन्थ्यो । तर प्रदेश सरकारको उदाशिनताले हामीहरु अनसनमा बस्न बाध्य भयौं ।’ डिजाइन नै फेल रहेकोले कमला नदीमा बनाइएको पक्की पुल भाँसिएको उहाँले बताउनुभयो । पुलको पाईल डेप्थ, स्कोर डेप्थ नमिलेको र रिवर टे««निंगको डिजाइन गलत रहेको हाम्रो ठहर छ । त्यसैले नदीमा नयाँ पक्की पुल नै बन्नुपर्ने हाम्रो मुख्य माग गरेको संयोजक इन्जिनियर यादवले बताए ।
यता मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह अनसनकारीहरुको माग प्रति गम्भिर रहेको बताए । उनले यस वर्ष केन्द्र सरकारले पुलको विषयमा ठोस निर्णय नगरे अगामी आर्थिक वर्षको प्रदेशकै बजेटबाट पुल बनाउने बताए ।
‘अहिले बजेट विनियोजन गर्ने समय पनि छैन् । र हुलाकी राजमार्ग अन्तर्गतको कमला पुल केन्द्र सरकारको योजना छ, मुख्यमन्त्री सिंहले भने, संघर्ष समितिले ज्ञापन पत्र बुझाएपछि सोही दिन नै केन्द्रका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई र प्रधानमन्त्री कार्यालयलाई पनि पुलको विषयमा आवश्यक कार्यवाहीको लागि लेखि पठाएको छु ।’ मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को साउन ३१ गतेको कमला नदीमा रहेको भाँसिएको पुलको र नयाँ पुल निर्माणका लागि पनि अध्ययन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय जिम्मेवारी दिने निर्णय भएको बताए ।
संघर्ष समितिको ज्ञापनलाई गम्भिर लिएपनि बलजफ्ती अनसन बसेको मुख्यमन्त्री सिंहको भनाइ छ । उनले यो अनसनको कुनै औचित्य नभएको बताए । अनसनलाई उनले स्टन्टबाजीको पनि संज्ञा दिए ।
यस आन्दोलनमा यसअघि गठित हुलाकी राजमार्ग संघर्ष समितिका संरक्षक रामरीझन यादव, पूर्वमन्त्री रामचन्द्र झा, सिरहा क्षेत्र नम्बर ३(ख) प्रदेश सांसद प्रमोद कुमार यादव लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको समर्थन छ ।
कमला नदीमा पुल सुचारु नभएपछि धनुषा र सिरहाका सर्वसाधारणलाई निकै कठिनाई भोग्नुपरेको छ । पुल पुर्ननिर्माणका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ र रघुवीर महासेठले पुलको निरीक्षण गर्दै पुल संचालनमा ल्याउन ठेकेदारलाई निर्देशन दिएपनि पुलको अवस्था अलपत्र छ ।
उता ठेकेदारले बीमा कम्पनीले क्षतिपूर्ति नदिएपछि पुल पुर्ननिर्माणमा ढिलाई भएको बुझिएको छ।






