संविधानमा भएका अधिकार पनि खोस्ने प्रयास हुँदैछ : अध्यक्ष डा.राउत

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वर्तमान संविधानमा भएका अधिकार पनि खोस्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
धनुषामा आयोजित पार्टीका कार्यकर्ताको प्रशिक्षण तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले संविधान संशोधनको मुद्दा देखाएर भएका अधिकारहरु पनि कटौती गर्ने कांग्रेस एमलेको रणनीति रहेको बताए ।
उनले संविधानलाई संशोधनमार्फत् थप अधिकार समेट्नुपर्नेमा अधिकार कटौतीको चलखेल भइरहेको दावी गरे । अलग विचारका दुई ठूला दल मिलेर बनेको सरकारले अनिष्ट र विनाशको संकेत हो– उनले भने ।
अध्यक्ष डा.राउतले कांग्रेस र एमाले संविधान संशोधन गरेर समानुपातिक समावेशी प्रणाली खारेज गर्न लागि परेको खुलासा गरे ।
उनले भने, ‘अमेरिकामा दुई पार्टी छन्, दुई पार्टी कहिल्यै मिलेर सरकार बनाउँदैनन् । एउटा आकाश र एउटा पाताल जस्तै हुन् । भारतमा विजेपी–काँग्रेस मिले के हुन्छ ? नेपालमा कांग्रेस र एमाले कसरी मिले ? आकाश–पाताल मिलेका छन् । यो अनिष्ट र विनाशको संकेत हो । संविधान संशोधनको लागि मिलेको भन्छन् ।’
अध्यक्ष डा. राउतले प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिए । उनले प्रदेशहरुको सिमांकन पनि सच्याउनुपर्ने आवश्यकता औल्याए ।
उनले संविधान संशोधन गरेर समानुपातिक प्रणाली खारेज गर्ने, दुई पार्टी मात्र रहने निर्वाचन प्रणाली ल्याउने भनेर अहिलेको गठबन्धन बनेको दावी गर्दै भने– यो खतराको घण्टी हो ।
उनले संविधानमा गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता पाइएकोले यी उपलब्धीको कदर गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टीका संगठन विभाग प्रमुख डा. जयकान्त राउत, राष्ट्रिय उपाध्यक्ष ई.वसन्त कुशवाहा, राष्ट्रिय अनिता देवी साह, कार्यकारिणी सदस्य शम्भनाथ साहलगाइतका नेताहरुले संगठनलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता बताए ।
कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डल, इन्द्रजीत यादव, केन्द्रीय सदस्य किलेश मण्डललगाइतले मन्तव्य राखेको थियो ।
उक्त प्रशिक्षण तथा शुभकामना कार्यक्रममा पार्टीका वडा कमिटी अध्यक्ष, नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचीव, जिल्ला समन्वय समिति सदस्य ,प्रदेश सदस्य, राष्ट्रिय परिषद सदस्य ,केन्द्रिय सदस्यसहित पार्टीका अगुवा नेताकार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रममा सहभागी गराइएको थियो ।






