६१ वर्षीया महिलाले दिइन् बच्चालाई जन्म

म्यासेडोनिया । उत्तरी म्यासेडोनियामा एकजना महिलाले ६१ वर्षको उमेरमा बच्चालाई जन्म दिएकी छिन् ।

स्कोप्जे युनिभर्सिटी क्लिनिक अफ गाइनेकोलोजी एन्ड अब्स्टेट्रिक्सका निर्देशक इरेना अलेक्सियोस्का पपेस्टिभका अनुसार नाम उल्लेख नगरिएकी नयाँ आमा इन भिट्रो फर्टिलाइजेसन प्राप्तकर्ता थिइन् ।

“६१ वर्षीया बिरामीले बच्चा पेटरको जन्मले चिकित्सा संसारमा अब कुनै सीमा छैन भनेर देखाउँछ”, पपेस्टिभले मङ्गलबार पत्रकार सम्मेलनमा पत्रकारहरूलाई भने ।

पपेस्टिभका अनुसार चिकित्सकहरूले उनको गर्भावस्थाको समयमा बिरामीलाई नजिकबाट अनुगमन गरेका थिए । जसमा उनलाई उच्च रक्तचाप र मधुमेह भएको पत्ता लागेको थियो ।

उनले बिरामीले विगतमा १० अलग–अलग इन विट्रो उपचारहरू गराएकी जानकारी दिए ।

उत्तर म्यासेडोनियामा इन भिट्रो उपचार प्रयोग गर्ने महिलाका लागि कुनै उमेर सीमा छैन ।

अधिकारीहरूका अनुसार आमा र नवजात शिशुलाई मङ्गलबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो । बच्चाको बुबाको उमेर ६५ वर्ष भएको बताइएको छ ।

आधिकारिक तथ्याङ्कअनुसार उत्तर मेसेडोनियाको प्रजनन दर सन् २०२३ मा प्रति महिला १.४८ जन्म थियो ।

सन् १९९१ मा स्वतन्त्रता घोषणा गरेदेखि उत्तर मेसेडोनियाले स्थगित अर्थतन्त्रका बीचमा आफ्ना धेरै मानिस बसाइँ सरेको देखेको छ ।

मुलुकमा केवल १८ लाख बासिन्दा छन् । यो गत सन् २०२१ मा सञ्चालित अन्तिम जनगणनाका अनुसार करिब दुई दशकमा करिब १० प्रतिशतले घटेको छ । एएफपी

प्रतिक्रिया
    ट्याग: