नन्दनको सानदार बलिङ्ग र बोसिस्टोको उत्कृष्ट ब्याटिङ्गमा विराटनगरमाथि कर्णालीको जित
काठमाडौं । नन्दन यादवको सानदार बलिङ्ग र विलियम बोसिस्टोको उत्कृष्ट ब्याटिङ्गमा कर्णाली याक्सले नेपाल प्रिमियर लिगमा दोस्रो जित हात पारेको छ ।
शनिवार भएको दोस्रो खेलमा विराटनगर किङ्गसलाई रोमाञ्चक खेलमा ७ रनले पराजित गर्दै कर्णालीले लिगमा दोस्रो जित हात पारेको हो ।
टस हारेर पहिला ब्याटिङ्ग गर्न मौका पाएको कर्णालीले निर्धारित ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो । कर्णालीका लागि बोसिस्टोले सर्वाधिक ६६ रन बनाए भने ओपनर ब्याट्सम्यान देव खनालले ५१ रनको पारी खेले । त्यसबाहेक अन्य खेलाडीले खासै रन बनाउन सकेनन् ।
१३४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको विराटनगरले कमजोर सुरुआत गरेपनि निकोलस किर्टनले मध्यतिर पारी सम्हालेका थिए । तर, नन्दन यादवको बलमा उनी बोल्ड भए । विराटनगरलाई जितबाट रोक्न नन्दन यादवले सर्वाधिक ३ विकेट लिए भने विपिन शर्माले २ विकेट लिए । त्यस्तै कर्णालीका मार्की एवं कप्तान सोमपाल कामीले १, युनिस ठकुरीले १ र बोसिस्टोले समान १ विकेट हात पारे ।