चोटका कारण एनपीएलबाट बाहिरिए क्याप्टन साह, उपाधी उचाल्ने बोल्टसको सपनामा धक्का

काठमाडौं । जनकपुर बोल्ट्सका कप्तान अनिल साहले नेपाल प्रिमियर लिग (एनपीएल) का बाँकी खेल गुमाउने भएका छन्। जनकपुरलाई क्वालिफायरमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका अनिल हातको चोटका कारण प्रतियोगिताबाट बाहिरिएका हुन्।
अनिललाई पछिल्लो खेलको दौरान हातमा चोट लागेको थियो। आठ रनमा आउट हुँदा उक्त चोट गम्भीर बनेको र अब शल्यक्रिया गर्नुपर्ने जनकपुर क्लबले जनाएको छ। अनिलको अनुपस्थितिमा जनकपुरको कप्तानी आशिफ शेखले सम्हाल्नेछन्।
जनकपुरका प्रशिक्षक पुबुदु दशानायकेका अनुसार अनिल अब लिगको बाँकी खेलमा उपस्थित हुन नसक्ने छन्। एनपीएलमा उनले केही महत्वपूर्ण प्रदर्शन गरेका थिए। कर्णाली याक्सविरुद्ध अविजित ६२ रनको उत्कृष्ट इनिङ खेलेका अनिलले लुम्बिनी लायन्सविरुद्ध ४५ रन बनाएका थिए। अन्य खेलमा भने उनको प्रदर्शन मध्यम रह्यो—विराटनगर किंग्सविरुद्ध ५, पोखरा एभेन्जर्सविरुद्ध १, सुदूरपश्चिम रोयल्सविरुद्ध ०, र काठमाडौं गुर्खाजविरुद्ध ११ रनमा सिमित भए।
जनकपुर बोल्ट्सले लिग चरणमा पाँच खेल जित्दै १० अंकका साथ क्वालिफायरमा स्थान बनाएको छ। लिग चरणका दुई खेलमा हार बेहोरेको जनकपुरले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ। कप्तान अनिलको अनुपस्थिति जनकपुरका लागि ठूलो चुनौती बनेको छ।-कान्तिपुर टिभी






