मधेश सरकारलाई टाँगीया बस्तीको अनुरोध : वन फाँडी विमानस्थल बनाउन नदिनुस् !

जनकपुरधाम । बारा जिल्लाको टाँगीया बस्तीका प्रतिनिधिहरू र वातावरण अभियान्ताले मधेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै निजगढ विमानस्थल निर्माण रोक्न अनुरोध गरेका छन्। बाराको टाँगीया बस्ती उजाड बनाउँदै केन्द्रीय सरकारले उक्त विमानस्थल बनाउँने हुँदा ध्यानाकर्षण गराएका हो ।
उनीहरूले प्रस्तावित विमानस्थल निर्माणले टाँगीया बस्तीका करिब २५०० घरधुरी विस्थापित हुने, वन क्षेत्र मासिने, र वातावरणीय सन्तुलन बिग्रिने गम्भीर समस्या निम्त्याउने बताएका छन्। बस्तीका बासिन्दासँग कुनै परामर्श नगरी परियोजना अघि बढाइँदैछ भन्ने गुनासो गर्दै, उनीहरूले उचित व्यवस्थापन र विकल्प नअपनाए मधेश क्षेत्रमा गहिरो पर्यावरणीय र सामाजिक संकट निम्तिने बताए।
ज्ञापनपत्र बुझाउने क्रममा हलखोरिया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष विकल्प भट्टराईले विमानस्थल निर्माण प्रक्रियामा सहमतिका लागि जनताको आवाज सुन्नुपर्ने बताए। उनका अनुसार, वैकल्पिक उपाय अपनाएर वन संरक्षणसहित सिमरा क्षेत्रको भौगोलिक अवस्थाको उपयोग गरी विमानस्थल निर्माण गर्न सकिन्छ। यसले लागत कम हुने र पर्यावरणीय विनाश रोक्न मद्दत पुग्नेछ।
त्यस्तै कायापलट संस्थाका संस्थापक दिवाकर उप्रेतीले वन फँडानी र वातावरणीय विनाशले मधेश मरुभूमिमा रूपान्तरण हुने खतराको बारेमा मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण गराए। उनी भन्छन्, ‘यदि वन मासिए भने मधेश प्रदेशले न केवल जैविक विविधता गुमाउनेछ, तर समुदायको सामाजिक तथा सांस्कृतिक संरचनामा समेत गम्भीर असर पर्न सक्छ।’ यो केवल विकासको नाममा ऋण लिने र मानिसहरूलाई विस्थापित गर्ने परियोजना बन्न सक्ने भएकाले यो प्रस्तावमा पुनःविचार गर्न उनले जोड दिए।
प्रतिनिधिहरूले सर्वोच्च अदालतले वैकल्पिक उपाय खोज्न दिएको आदेशअनुसार संघ सरकारलाई दबाब दिन मधेश सरकारको भूमिका महत्वपूर्ण रहेको बताए। उनीहरूले स्थानीय बस्तीको संरक्षणका लागि न्यायसंगत र समावेशी कदम चाल्नुपर्ने माग राखे। त्यस्तै, वन तथा वातावरण मन्त्री, पर्यटन मन्त्रालयका प्रतिनिधिहरू, र मुख्यमन्त्री कार्यालयलाई यस मुद्दामा ध्यानाकर्षण गराउँदै सम्बाेधन गर्न आग्रह गरेका छन्।
हस्तान्तरण कार्यक्रममा कायापलटका संस्थापक दिवाकर उप्रेती, कोषाध्यक्ष बलराम कुमार साह, हलखोरिया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष विकल्प भट्टराई, सहजनाथ साझेदारी वन उपभोक्ता समूह मुस्ताक अन्सारी, नाफानका सदस्य संजिता कुमारी, स्थानीयवासी टाँगीयाबस्तिका कृष्ण बुढाथोकी, कुमारी योन्जन लामा र मिना कुमारी मोक्तानकाे उपस्थिति रहेकाे थियाे ।








