सिरहामा नगरस्तरीय फुटबल प्रतियोगिता: खेल मैदानमा १७ वडाका टिमहरूबीच प्रतिस्पर्धा हुने

सिरहा । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा क्लबद्वारा आयोजना हुने नगरस्तरीय फुटबल प्रतियोगिता माघ ८ गतेदेखि सञ्चालन हुने भएको छ। क्लबका अध्यक्ष राजीपकुमार यादवका अनुसार प्रतियोगिता सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खेलमैदानमा हुनेछ।

सिरहा नगरपालिकाका २२ वडामध्ये १७ वडाका टिमहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्। नगरप्रमुख डा. नवीनकुमार यादवले नगर क्षेत्रका युवा खेलाडीहरूको प्रतिभा उजागर गर्दै खेल क्षेत्रको प्रवर्द्धन गर्न प्रतियोगिता महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे।

उनले प्रतियोगिताले युवाहरूलाई कुलतबाट टाढा राख्न र विदेश पलायन रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। विजेतालाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया