युएसएआईडी नेपालको सहयोगमा सञ्चालित सबै कार्यक्रमका अनुदान रकम रोकियो

काठमाडौँ । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले कार्यकाल सम्हालेसँगै गरेका निर्णयहरूले विश्वलाई प्रभावित बनाउन थालेको छ ।

गत २० जनवरीमा आफ्नो दोस्रो कार्यकालका लागि शपथ ग्रहण गरे लगतै उनले गरेका विभिन्न निर्णयमध्यको एक हो सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गर्ने । अमेरिकी राष्ट्रपति ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीति अन्तर्गत विदेश नीतिको समीक्षा भइरहेकाले तत्काल ९० दिनसम्मका लागि वैदेशिक सहायता स्थगित गरिएको हो । योसँगै अमेरिकी सहयोगमा नेपालसहित विभिन्न मुलुकमा सञ्चालनमा रहेका कार्यक्रमहरू प्रभावित हुने भएको छ ।

वैदेशिक सहायता पुर्नमूल्याङ्कन सम्बन्धी कार्यकारी आदेश जारी गरेका ट्रम्पले वैदेशिक विकास अनुदान स्थगित गर्न मातहतका निकायकालाई निर्देशन दिएपछि नेपालमा अमेरिकी सहयोगमा सञ्चालित कार्यक्रमहरू प्रभावित हुने भएको हो ।

अमेरिकाको सहयोगमा नेपालमा स्वास्थ्य, खाद्य सुरक्षा, शिक्षा र विकाससँग सम्बन्धित कयौं परियोजनाहरूको अनुदान रोकिँदा ती कसरी अघि बढ्छ आगामी दिनमा भन्ने बहस सुरु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा युएसएआईडीद्वारा सञ्चालित खोप लगायतका विभिन्न अभियानका लागि दिँदै आएको अनुदान रोकिएको छ ।

त्यसैगरी अमेरिकाले नेपाललाई कृषि, सुशासन, विपद्, पूर्वाधार निर्माण, शिक्षा र सरसफाइका क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । ती क्षेत्रमा अधिकांश अमेरिकी अनुदान यूएसएआईडीमार्फत् काम हुँदै आएको छ ।

अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीमार्फत् पनि नेपालमा सडक र विद्युत् पूर्वाधारको क्षेत्रमा काम सुरु भएका छन् । ती पनि प्रभावित हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया
    ट्याग: