चाडबाडको समय कोरोनासँग मिल्दोजुल्दो लक्षणलाई वेवास्ता नगरौं : डा.पुन

हामी सबै यतिबेला चाडवाडको सिजनमा छौं । आजदेखि दसैँ सुरु भईसकेको छ भने तिहार र छठ पनि आउन लागेको छ । सबैजना खुसी छौं र जनजीवनपनि सहज भइसकेको छ । कोरोना महामारीको जोखिमकाबीच सरकारले सबै क्षेत्र खुलाइसकेको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको दर स्थिर रहेको भन्दै सरकारले सबै क्षेत्रलाई खुलाएर सहज बनाएको हो । तर, पछिल्लो समय नेपालका विभिन्न जिल्लामा स्क्रब टाइफसको सङ्क्रमण देखिन थालेको छ । कोरोना महामारीकाबीच देखिएको स्क्रब टाइफसका कारण अस्पताल आउने बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षणहरु भएका कारण चिकित्सकहरुले कोरोनासँगै स्क्रब टाइफसको पनि परीक्षण गराउन सुझाव दिन थालेका छन् । स्क्रब टाइफसबारे विभिन्न जनचेतना फैलाइएपनि मानिसहरु अझै अनभिज्ञ छन् । जसका कारण नेपाल जस्तो विकासिल देशका धेरै नागरिक यसको जोखिममा छन् । यो रोगका धेरैजसो लक्षण सामान्य ज्वरोसँग मिल्दोजुल्दो भएकाले पनि मानिसहरू झुक्किने गर्छन् । विशेषगरी भदौदेखि असोज÷कात्तिकसम्म यो रोग देखिने गर्छ ।

चीनमा तेस्रो सताब्दीमा पहिलो पटक स्क्रब टाइफस देखापरेको थियो भने नेपालमा झन्डै १७ वर्ष अगाढी यसको सङ्क्रमण देखा परेको थियो । नेपालमा यो रोगको सङ्क्रमण देखिएको धेरै समय नभएपनि वर्षेनि कम्तिमा पनि १० देखि १५ जनाको मृत्यु हुने गरेको छ भने एक हजारदेखि १५ सयजनासम्म सङ्क्रमित हुने गरेका छन् ।

सङ्क्रामक एवं सरुवारोगबारे अध्ययन गर्दै आएका डा. शेर बहादुर पनुका अनुसार स्क्रब टाइफसलाई बुस टाइफस पनि भन्ने गरिन्छ । यो रोग ओरेन्सिया सुसुगमुसी नामक पराजिवीको सङ्क्रमणबाट सर्छ भने माइट नामक सङ्क्रमित किर्नाले टोक्दा यो रोग मानिसमा सर्ने गर्छ ।

उनले विशेषगरी घाँसपात, झाडीमा काम गर्ने मानिसमा यो रोगको सम्भावना प्रवल रहन्छ । झाँडीमा काम गर्दा संक्रमित किर्नाले टोक्यो भने यो रोग लाग्ने जोखिम उच्च हुने गरेको बताउँछन् ।

स्क्रब टाइफसका लक्षणहरू :

एक्कासी ज्वरो आउनु
शरीरमा एलर्जी जस्तो बिबिरा देखिनु
टाउको दुख्नु
खोकी लाग्नु
शरीर आलस्य हुनु
खाना अपज हुनु
वान्ता हुने
जन्डिस हुने
श्वास फेर्न गाह्रो हुने ।

यसको बेलैमा उपचार गरिएन भने सङ्क्रमण बढ्दै गएर मुटु, कलेजो, मिर्गाैलामा समेत गम्भीर असर पुग्छ । यो रोगको सङ्क्रमण भएको करिब ५ देखि ७ दिनदेखि लक्षण देखिन थाल्छ ।

उपचार पद्धति :

यो रोग लागे नलागेको पत्ता लगाउन रगतमा एन्टीजेनको अवस्था हेर्नुपर्छ । यसैलाई आधार मानि बिरामीको अवस्था हेरी कुन उपचार पद्धति अवलम्बन गर्ने, कुन औषधि चलाउने भन्ने यकिन गरिन्छ ।

बच्न के गर्ने ?

स्क्रब टाइफस ग्रामीण क्षेत्रका मानिसमा मात्र देखापर्छ भन्ने थियो । यसको सङ्क्रमण शहरी क्षेत्रमा समेत देखापरेको छ । यसबाट बच्ने उपाय भनेको संक्रमित किर्नाको टोकाइबाट बच्नु हो । यसबाहेक निम्न सावधानी अपनाउनु पर्छ ।

खेतबारीमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउने । (खुट्टामा बुट, हातमा पन्जा र टाउको ढाक्ने कपडा लगाउने )
घर वरपर सफा राख्ने ।

भुइँमा बस्दा केही ओच्छ्याएर मात्र बस्ने ।

माथिका कुनै पनि लक्षण देखिए तुरुन्त स्वास्थ परीक्षण गराउनु पर्छ । बेलैमा उपचार गरिएन भने यो रोगले ज्यानै लान सक्छ ।

स्क्रब टाइफसबाट जोगिनका लागि उपचार मात्रै विकल्प हो । किनकी हालसम्म यसको कुनै खोप विकास भइसकेको छैन ।

अन्तिममा कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखिने भएकाले कोरोना वा स्क्रब टाइफस हो वा होइन भन्ने पत्ता लगाउनका लागि व्यक्तिले समयमै परीक्षण गरेर उपचार गर्नु नै उत्तम मानिन्छ ।

भिडियोमा हेरौं डा.पुनका भनाइ :

प्रतिक्रिया
नागरिक मिरर