मन्त्रीकै होटलमा यस्तो लापरवाही : शाकाहारी खानमा मासुको हड्डी !

नाम पवित्र, काम घृणित : धार्मिक संवेदनशीलता माथी नै प्रश्न

जनकपुरधाम । बर्दिबासस्थित चर्चित होटल पावन मिथिलामा शाकाहारी खानामा मासुको हड्डी भेटिएको छ । केही दिनअघि उक्त होटलमा आयोजित एक कार्यक्रममा सहभागीले दिइएको शाकाहारी खानामा मासुको हड्डी फेला परेको हो ।

आफूलाई आएको शाकाहारी खानामा मासुको हड्डी देखेपछि उक्त सहभागिले होटलका कर्मचारीलाई जानकारी गराए । सुरुमा होटेलका कर्मचारीहरूले उक्त आरोप अस्वीकार गरेपनि पछि गल्ती स्वीकार गर्दै माफी मागेका थिए। शाकाहारी खानामा मासु मिसिनु अक्षम्य अपराध रहेको बताउँदै यसरी पवित्र नाम राखेर गैरजिम्मेवार कार्य गर्नु निन्दनीय भएको ती सहभागिले बताएका छन्।

उक्त होटल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको स्वामित्व रहेको बुझिएको छ । मन्त्रीकै होटलमा यस्तो घटना हुनु गम्भीर त्रुटी भएको भन्दै व्यवस्थापन र सेवा गुणस्तरीयतामाथी नै प्रश्न चिन्ह खडा भएको छ । उपभोक्ता अधिकार सम्बन्धी समूहहरूले होटलमा छानबिन गरी दोषी होटल सञ्चालकलाई कारवाही गरी जवाफदेही बनाउन माग गरेका छन्।

होटलको शाकाहारी खानामा मासुको हड्डी भेटिनु केवल सेवा त्रुटि मात्र नभएर धार्मिक दृष्टिले समेत गम्भीर विषय भएको स्थानीयहरू बताउँछन् । मुलुकमा धर्म परिवर्तन गराउने केही समूहहरू सक्रिय रहेको बेला मन्त्रीकै होटलमा यस्तो घटना हुनु थप शंकाको विषय बनेको छ।

होटल प्रशासनले यस घटनालाई दुर्भाग्यपूर्ण त्रुटी भएको बताउँदै माफी मागेको छ । उनीहरूले यस्ता गल्तीहरू दोहोरिन नदिन आवश्यक सुधारका उपाय अपनाइने प्रतिबद्धता जनाएका छन्।

तर, स्थानीयबासी तथा उपभोक्ताहरूले मन्त्रीकै स्वामित्वमा रहेको होटलमा यस्तो लापरवाही हुनु गम्भीर विषय भएको बताएका छन्।

प्रतिक्रिया