चर्चित पत्रकार काशिन्द्र शर्मा पनि वैवाहिक बन्धनमा बाँधिए, विवाहपछि लेखे यस्तो प्रेरणादायक स्टाटस

गरे सात वचनका साथ दहेजविनाको आदर्श विवाह

जनकपुरधाम। चर्चित पत्रकार एवंम् युवा सञ्चार उद्यमी, न्यूज ब्यूरोका सञ्चालक र सम्पादक समेत रहेका पत्रकार काशिन्द्र कुमार शर्माले ५ फागुन सोमबार बिहान ५ः४५ बजे वैवाहिक जीवनमा प्रवेश गरेका छन्। विवाहको पृष्ठभूमि र अनुभव आफ्नो निजी फेसबुक प्रोफाईलमार्फत साझा गर्दै उनले सात वचनका साथ एक महत्वपूर्ण संकल्प प्रस्तुत गरेका छन्, जसमा धार्मिक, पारिवारिक, सामाजिक र नैतिक मूल्यहरूको विशेष प्राथमिकता दिइएको छ।

शर्माले जीवनसाथीसँगै हरेक पूजा, हवन र तीर्थयात्रामा सहभागी हुने, आमाबुवालाई भगवानसरह सम्मान गर्ने, पत्नीलाई जीवनभर साथ दिने, घरपरिवारको जिम्मेवारीमा गम्भीर रहने, निर्णयहरू आपसी समझदारीमा लिने, जीवनसाथीको उपस्थितिमा अपमानजनक व्यवहार नगर्ने र वैवाहिक प्रेमको सीमारेखा उल्लङ्घन नगर्ने प्रतिज्ञा गरेका छन्।

पत्रकार शर्माले आफ्नो जीवनसाथीसँगको यो पहिलो तस्बीर कमेन्टमार्फत साँझा गरेका छन्। र त्यसमा प्रथम वचन पुरा यसरी गरेको भनी सन्देश दिन चाहेका छन्।

उनीले आफ्नो विवाह बिना दहेज सम्पन्न गर्ने दृढ संकल्प गरेका थिए। बेहुला पक्षले नगद, गरगहना वा कुनै अन्य सामान स्वीकार नगर्ने अडान राखे पनि ससुराली पक्षले स्वेच्छिक रूपमा फ्रिज, पलङ, सोफा सेट र गरगहना लगायतका उपहार दिएका छन्। यी उपहारहरू शर्माले अस्वीकार गर्न चाहेका थिए, तर परिवारको आग्रहमा अन्ततः स्वीकार गरे। विवाहमा लगभग पाँच लाख रुपैयाँ खर्च भएको शर्माले आफ्नो स्टाटसमा सार्वजनिक गरेका छन्। यी खर्च भोजभतेर, लत्ताकपडा, बाजागाजा, जन्ती खर्च र दान–दक्षिणामा पुगेका थिए।

शर्माले स्टाटसमा उल्लेख गरेका छन्, “मेरो विवाहबारे विभिन्न अफवाहहरू फैलाइएका थिए, जस्तै ‘बेहुला भाडाको घरमा बस्छन्,’ ‘जग्गाजमिन छैन,’ ‘दोस्रो विवाह गर्दैछन्,’ ‘झगडालु स्वभावका छन्’ र ‘बेहुली पक्षको खर्च बेहुला पक्षले उठाएको छ।’ यी सबै निराधार हल्ला रहेको म खण्डन गर्दछु।”

उनी विवाहका लागि आधुनिक प्रवृत्तिबाट टाढा रहेर संस्कारी र पारिवारिक मूल्यलाई प्राथमिकता दिने जीवनसाथी खोज्ने निर्णयमा थिए। यस क्रममा उनले २४ जना सम्भावित साथीहरूसँग कुराकानी गरे, तर वैचारिक मेल नमिलेका कारण २५औं प्रयासमा विवाह सम्पन्न भएको उल्लेख गरेका छन्। विवाहका लागि आएका प्रस्तावहरूमा २ जना डाक्टर, ३ जना नर्स, ११ जना स्नातक तहका विद्यार्थी, ६ जना इन्टरमिडिएट तहका विद्यार्थी, १ जना सरकारी जागिरे र १ जना एसएसली पास थिए। तर अधिकांशले गाउँमा बस्न नसक्ने बताउँदै विवाह अस्वीकार गरेका थिए।

शर्माले जीवनसाथी वृद्ध आमाबुवाको सेवा गर्न सक्ने हुनुपर्छ भन्ने धारणा राख्दै देखावटी विवाहभन्दा पारिवारिक मूल्य र सादगीपूर्ण जीवनशैलीलाई प्राथमिकता दिएका थिए। अन्ततः उनले मध्यमवर्गीय परिवारकी युवतीलाई जीवनसाथीका रूपमा चयन गरे। उनका बिना दहेजको सादगीपूर्ण विवाहलाई समाजले सकारात्मक दृष्टिकोणले लिएको छ र पारिवारिक मूल्य र नैतिकतामा आधारित वैवाहिक जीवनको छनोटलाई धेरैले सराहना गरेका छन्।

मधेशमा दाइजो बिना विवाह सम्भव छैन भन्ने धारणा चौतर्फी छ । यस सन्दर्भमा, पत्रकार काशिन्द्र कुमार शर्माले दाइजोविनाको आदर्श विवाह गरेर समाजमा सकारात्मक सन्देश दिएका छन्। उनको यो कदमले अन्य युवाहरूलाई पनि प्रेरित गर्ने उद्देश्यले यो समाचार प्रकाशित गरिएको छ।-कार्यकारी सम्पादक

प्रतिक्रिया