‘राजागंज’ : सामाजिक यथार्थवाद र हलिउड थ्रिलरको अद्भुत मिश्रण!
साहसी महिलाहरुको कथामा आधारित फिल्ममा प्रहरी सेवामा रहेको महिलाको योगदानलाई सम्मान

जनकपुरधाम । विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलहरू भेनिस, बुसान, र टालिन ब्ल्याक नाइट्समा प्रभाव जमाइसकेको फिल्म राजागंज अब नेपालमा चैत १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। टी फोक्स फिल्म्स र ब्यांकतेश इन्टरटेनमेन्टले संयुक्त रूपमा नेपालभर वितरण गर्ने यस फिल्म अन्तर्राष्ट्रिय रूपमा Pooja, Sir नामले परिचित छ। यस फिल्मका प्रमुख निर्माताहरूमा जारी र कबड्डी जस्ता ब्लकबस्टर फिल्मका निर्माता रामबाबु गुरूङ, नेपाली सुपरस्टार दयाहाङ राई, र भारतका प्रतिष्ठित फिल्ममेकर अनुराग कश्यप रहेका छन्। कश्यपले Gangs of Wasseypur जस्ता चर्चित फिल्महरू निर्माण गरेका छन्।
निर्माता अनुराग कश्यपले हालै Variety म्यागजिनलाई दिएको अन्तर्वार्तामा यो फिल्ममा संलग्न हुन पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताएका छन्। उनले White Sun हेरेदेखि नै निर्देशक दीपक रौनियारको कामको फ्यान रहेको बताउँदै उनको नयाँ फिल्मको प्रतीक्षा गरिरहेको उल्लेख गरेका छन्। निर्देशक रौनियार नेपाली कथानक फिल्महरूलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित A-लिस्ट फिल्म फेस्टिभलहरूमा पुर्याउने पहिलो नेपाली निर्देशक हुन्। उनको चलचित्र हाइवे (2012) बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट हुने पहिलो नेपाली फिल्म थियो। त्यसपछि White Sun भेनिस, टोरन्टो, लोकार्नो, बुसान लगायतका प्रमुख महोत्सवहरूमा छनोट भएको थियो। उक्त फिल्मले Singapore र Palm Springs फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको पुरस्कार जितेको थियो। उनका फिल्महरू हार्वर्ड युनिभर्सिटी, येल युनिभर्सिटी तथा न्यूयोर्क म्युजियम अफ मोडर्न आर्टमा समेत प्रदर्शन भइसकेका छन्। आउँदो एप्रिलमा हार्वर्ड युनिभर्सिटीमा राजागंजको विशेष प्रदर्शन तथा छलफलको आयोजना हुने बताइएको छ।
अन्तर्राष्ट्रिय समीक्षकहरूले फिल्मलाई उच्च मूल्यांकन गरेका छन्। Screen Daily का समीक्षक टिम ग्रिईरसनले यस फिल्मलाई सरल तर गहिरो प्रभाव पार्ने थ्रिलर भनेर व्याख्या गरेका छन्। Hamburg Film Festival को समीक्षामा उनले महान जासुसी फिल्महरूको परम्परामा, यसले केवल अपराधको उत्तर मात्र दिँदैन अझ गहिरो अर्थ बोकेको निष्कर्षमा पुग्छ भनी उल्लेख गरेका छन्। समीक्षक सिधान्त अडलखाले फिल्मलाई सामाजिक यथार्थवाद र हलिउड थ्रिलरको सौन्दर्यलाई अनौठो तरिकाले मिश्रण गरेको बताएका छन्। Busan International Film Festival का प्रोग्रामरहरूले यसलाई हेर्नै पर्ने पाँच चलचित्रको सूचीमा तेस्रो नम्बरमा राखेका थिए।
फिल्मको मुख्य पात्र इन्स्पेक्टर पूजा थापाको भूमिका अभिनेत्री आशा मगरातीले निर्वाह गरेकी छन्। मोरङ बेलबारीकी मगराती धरानको अनाम नाट्य जमातबाट व्यावसायिक अभिनय यात्रा सुरु गरेकी हुन्। उनले ह्वाईट सन, हाईवे, कागवेनी, कर्मा, दलन, कथा मिठो सारङ्गीको लगायत चर्चित चलचित्र, टिभी सिरिज, रेडियो कार्यक्रम तथा थुप्रै स्टेज नाटकहरूमा अभिनय गरिसकेकी छन्। समीक्षकहरूले उनको अभिनयलाई उच्च प्रशंसा गरेका छन्। Screen Daily का टिम ग्रिईरसनले कालो चस्मा र गम्भीर भावको पहिरनमा मगरातीको उपस्थिति प्रभावशाली रहेको बताएका छन्। समीक्षक निखिल अकिलले आशा मगरातीको उत्कृष्ट अभिनयले पूजा थापाको दृढ चरित्रलाई आत्मविश्वासका साथ प्रस्तुत गरेको बताएका छन्। नेपाल प्रहरी पुरूषप्रधान भए पनि किरण बज्रचार्य, मिरा चौधरी, पूजा सिंह, बिमला थापा जस्ता महिला अफिसरहरूले छुट्टै पहिचान बनाएका छन्। यो फिल्मले प्रहरी सेवामा महिलाको योगदानलाई सम्मान गर्ने प्रयास गरेको छ।
फिल्ममा दयाहाङ राई, निकिता चण्डक, रिचा शर्मा, गौमाया गुरूङ, विजय बराल, पशुपति राई, घनश्याम मिश्रा, गायत्री मिश्र, बाल कलाकारका रुपमा अतिथि प्रिया, परमेश्वर झा, आरती मण्डल, पुष्पा यादवलगायतका कलाकारहरूको अभिनय रहेको छ। दयाहाङ राईले राजागंजलाई सहासी महिलाहरूको कथा बताउँदै निर्देशक दीपक रौनियारसँग छैटौँ पटक सहकार्य गरेकोमा खुशी व्यक्त गरेका छन्।
भेनिस फिल्म फेस्टिभलमा भदौ १३ गते प्रिमियर भएदेखि नै चर्चा कमाएको यस फिल्मका लागि विभिन्न देशका ठूला वितरकहरूले अधिकार खरिद गरिसकेका छन्। फ्रान्स तथा फ्रेन्च भाषा बोलिने देशहरूको लागि ARP Selection ले थियाट्रिकल तथा अन्य सबै वितरण अधिकार लिएको छ। जर्मनी, स्विजरल्याण्ड, अस्ट्रिया क्षेत्रमा Trigon Films ले वितरण अधिकार लिएको छ। बेलायतमा Channel 4 ले टिभी प्रसारण अधिकार लिएको छ भने अमेरिकामा Penny Black Media ले अन्तर्राष्ट्रिय एयरलाइन्स प्रदर्शन अधिकार खरिद गरिसकेको छ। यसैगरी The Film Collaborative ले अमेरिकामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल वितरणको जिम्मेवारी लिएको छ।
नेपाली दर्शकहरूले अन्तर्राष्ट्रिय रूपमा चर्चित यस फिल्मलाई नेपालमा आउँदो चैत १ गतेदेखि हेर्न सक्नेछन्। नेपालमा राजागंज नामले प्रदर्शन हुने यो फिल्म अन्तर्राष्ट्रिय जगतमा Pooja, Sir भनेर प्रसिद्धि पाएको छ। फिल्ममा अभिनय गरेकी मुख्य पात्रको नाम पूजा (महिला) ले आफुलाई म्याडम होइन सर भनेर सम्बोधन गर्न चाहना राखेको आधारमा पूजा सर भनिएको हो।
यस्तै राजागंज नामको चयनका विषयमा निर्माताले स्पष्ट गरेको छैन्। तर, जनकपुरधामका राजा र वीरगंजको गंजलाई संयोजन गरेर यो नाम राखिएको हुनसक्ने अनुमान गरिएको छ। फिल्म मधेश र खासगरी जनकपुर क्षेत्रमा छायांकन गरिएको हो। यस फिल्ममा महिला पात्रहरूको प्रमुख भूमिका रहेको छ।






