पर्यटक तथा जनतालाई सास्ती दिएको भन्दै माओवादीले धनुषाधाम नगरपालिका कार्यालय घेरे

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले धनुषाधाम नगरपालिका कार्यालय घेराउ गरेको छ । माओवादी केन्द्र धनुषाधाम नगर कमिटीले नगरपालिका कार्यालय घेराउ गर्दै धर्ना दिएको हो ।

फागुन १ गते ११ बुँदे माग राख्दै नगरपालिकालाई १० दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका माओवादीले समयसीमा भित्र माग पुरा नभएपछि बाध्य भएर संघर्षमा उत्रिनु परेको माओवादी नेता दिपक यादवले जनाए ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नगरपालिका भवन, धर्मशाला व्यवस्थापन लगायतका मागहरु राखी उनीहरु धर्नामा बसेका छन् ।

११ बुँदे मागहरुमा धनुषाधाम नगरपालिकाको कार्यालय नवनिर्मित आफ्नै भवनमा सारि धर्मशाला पर्यटकका लागि खाली गर्नुपर्ने, धनुषाधामको प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा तुरुन्त सुचारु ग्रि नगर भरिका स्वास्थ्य सेवामा औषधि, स्वास्थ्यकर्मी र एम्बुलेन्स सेवा सर्वसुलभ तरिकाले समयमा उपलब्ध गराउनुपर्ने, विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गरि शिक्षामा देखिएका अनियमितता, अपारदर्शीता र खस्किदै गएको शिक्षा स्तरमा सुधारको लागि अविलम्ब पहल गरिनुपर्ने, आफ्नै कार्यालयको प्रशस्त गाडी हुँदा हदैँ भाडाको गाडी प्रयोग गर्न बन्द गर्नुपर्ने, पर्यटन विकासको लागि धनुष मन्दिर, संरक्षित वन, धनुषाधाम मकर मेला, बजार व्यवस्थापन अविलम्ब गरिनु पर्ने, किसानको लागि समयमा मलखाद, बिउबिजन र सिचाईँको उचित व्यवस्था गर्नुपर्ने, आन्तरिक आम्दानी स्रोत बढाउन बालुवा खोलको ठिक्का समयमा लगाउनु पर्ने, अनियति तरिकाले भर्ना गरिएको कर्मचारी सार्वजनिक गर्नुपर्ने, दलित, महिला, पिछडा वर्ग, अपाङ्ग लगायत विभिन्न समुदायका लागि संघीय र स्थानीय सरकारबाट छुट्यार आएको सहभागितामूलक रकम सम्बन्धित समुदायको समन्वय तथा सहकार्यमा काम गरिनु पर्ने, सार्वजनिक सुनुवाइ कार्यक्रम गरि हालसम्मको आयव्यय सार्वजनिक गरि सूचना प्रवाह गरिनु पर्ने लगायतका माग राखेका छन् ।

धनुषाको धनुषाधाम नगरपालिकाले धनुष धर्मशाला ओगटेपछि त्यहाँ आउने पर्यटकले सास्ती भोग्नु परेको छ । विगत झन्डै ८÷९ वर्षदेखि त्यहाँ नगरपालिकाको कार्यालय रहेको छ ।

यहाँका मेयरका बदमासीका कारण धनुषा धर्मशाला ८÷९ वषएदेखि ओगटिएको नेता यादवले जनाए । जसकारण यहाँ आउने पर्यटकले सास्ती भोग्नु परेको छ । नगरपालिका बनेदेखि नै त्यहाँ धर्मशाला कब्जा गरि त्यसमा नगरपालिका कार्यालय राखिएको छ ।

उहाँहरुले चाहनुभो भने छिट्टै नगरपालिका कार्यालय आफ्नै नवनिर्मित भवनमा सार्न सकिन्छ । यद्यपि उहाँहरुले त्यो चाहनु भएको छैन, नेता यादवको आरोप छ ।

धनुष धर्मशालाबाट कार्यालय आफ्नै भवनमा सार्नुपर्ने लगायतको माग माओवादीले अघि सारेको छ । धर्मशाला व्यवस्थापनमा मेयर बालेश्वर मण्डल अग्रसर भई त्यहाँ आउने पर्यटकका बासस्थानका लागि सहज वातावरण बनाउन नेता दीपक यादवले आग्रह गरेका छन् ।

स्थानीय तहको दुई पटकको निर्वाचनमा मेयर बालेश्वर मण्डल र उपमेयर विद्यादेवी भुजेल छन् । उनीहरु नेपाली काँग्रेसबाट बिजय भएका छन् ।

प्रतिक्रिया