धनुषामा घरकै पूजाकोठामा गाडिएको अवस्थामा महिलाको शव फेला, श्रीमानसँगै छोरी बेपत्ता

जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ। मृतक २० वर्षीया अञ्जली यादव रहेको खुलेको छ।
प्रहरीका अनुसार स्थानीयले श्रीमान हरिराम यादव बेपत्ता भएको जानकारी गराएपछि खोजीका क्रममा मंगलबार दिउँसो अञ्जलीको शव सडेको अवस्थामा फेला परेको हो। श्रीमान हरिराम यादव र उनीहरूकी १० महिने छोरी पनि बेपत्ता रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिएको छ।
स्थानीयका अनुसार शनिबार राति दम्पतीबीच विवाद भएको थियो। आइतबार बिहान हरिरामले पत्नी हराएको बताए पनि मंगलबारदेखि उनी आफैं लापत्ता भएपछि शंका उत्पन्न भएको थियो। खोजतलासका क्रममा पूजाकोठाभित्र शव गाडिएको अवस्थामा भेटिएपछि घटना हत्या हुन सक्ने प्रहरीको आशंका छ।
शवलाई उत्खनन गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिने तयारी भइरहेको छ भने हरिराम यादव र उनकी छोरीको खोजी कार्य जारी रहेको डीएसपी सिंहले जनाएको छ।