आफ्नै नगरपालिकाको कार्यालयमा मेयर साहले किन गरे तालाबन्दी ?

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले कार्यालयमा तालाबन्दी गरेर साँचो बुझाएका छन् ।

नगरप्रमुख साहसहितका जनप्रतिनिधिले आइतवार कार्यालयमा तालाबन्दी गरेर साँचो प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई बुझाएका हुन् ।

गत ९ माघमा निमित्त प्रशासकीय अधिकृत विजयकुमार यादवको जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयले खोसेपछि प्रमुख प्रशासकीय अधिकृतबिहीन बनेको भंगहा लेखाका अधिकृत आठौंलाई वरिष्ठताको आधारमा रामसागर यादवलाई निमित्तको जिम्मेवारी दिइएको थियो ।

नगरप्रमुख साहका अनुसार ४ फागुनमा समान्य प्रशासन मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृत तोकेपछि निमित्तको जिम्मेवारी खोसेको थियो । तर, हालसम्म पनि घिमिरे कार्यालयमा हाजिर नभएका कारण कामकाज प्रभावित बनेको नगरप्रमुख साहको गुनासो छ ।

प्रशासकीय अधिकृतबिहीन हुँदा नागरपालिकाको विकासे काम ठप्प भएको, टेन्डर आह्वान गर्न नसकेकाले बाध्य भएर तालाबन्द गरेको उनले बताए ।

भंगहामा यसअघि पनि प्रशासकीय अधिकृतको विषयमा विवाद हुँदै आएको छ ।

प्रतिक्रिया