दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछिको मधेस आन्दोलनलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ।
मधेसमा आन्दोलन चर्किरहेको बेला अपहरणमा परेका एक सभासद् र एक विद्यालयकी प्रधानाध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अपरेशन ट्रेलरमा देखाइएको छ। आन्दोलनका बीच प्रहरीद्वारा अपनाइएका रणनीति तथा आइपरेका चुनौतीहरूलाई पनि ट्रेलरमा उजागर गरिएको छ। प्रहरी इन्स्पेक्टरको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईबीचको संघर्ष पनि ट्रेलरमा प्रस्तुत गरिएको छ।
सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करिअरकै सबैभन्दा ठूलो परियोजना रहेको बताएका छन्। उनले भने, “मैले यसअघि यति ठूलो सिनेमा निर्माण गरेको थिइनँ। यसमा कलाकारसहित एक हजारभन्दा बढी मानिस संलग्न थिए।“ सिनेमालाई सन् २०१५ को परिवेशमा निर्माण गरिएको पनि उनले जानकारी दिए।
निर्देशक रौनियारका अनुसार यस फिल्मले अन्तर्राष्ट्रिय महोत्सवहरूमा राम्रो प्रशंसा पाएको छ। जसका कारण नेपाली दर्शकलाई पनि मनपर्ने निर्देशक रौनियारको विश्वास छ। आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्व मिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।
‘राजागंज’ले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका प्रतिष्ठित सिनेमा महोत्सवहरूमा सहभागिता जनाएको छ। भेनिस फिल्म फेस्टिवलमा फिल्मले १० मिनेट लामो स्ट्यान्डिङ ओभेसनसमेत प्राप्त गरेको थियो। प्रतिष्ठित अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो। साथै, प्रख्यात ब्राजिलियन लेखक पाओलो कोहेलोले पनि सार्वजनिक रूपमा रौनियारको प्रशंसा गरेका थिए।
यस सिनेमाको निर्माणमा आदि फिल्मस्को तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्को तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्। नेपालमा भने टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रूपमा फिल्म रिलिज गर्ने भएका छन्।