पत्रकारहरूले विज्ञापन र योजना मागेर हैरान पारे, अब डिप्रेशनमा जानसक्छु : मन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले पत्रकारहरूले विज्ञापन र योजना मागेर हैरान बनाएको बताएका छन् ।
जनकपुरधाममा मङ्गलवार आयोजित प्रादेशिक ललितकला प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री यादवले पत्रकारहरूको अति दबाब र योजनाहरूको मागले आफू समस्यामा पारेको गुनासो गरे ।
उनले भने, ‘एक पत्रकारले मलाई फोन गरेर सहयोग गर्नुस्, नभए लेखिदिन्छु, अर्का पत्रकारले मलाई फलानो योजना दिनुस् भनेर धम्की दिन्छन् । यसकारण म आज यहाँ बौद्धिक व्यक्तित्वहरूको मञ्चमा आफ्नो दुखेसो राख्दैछु, ताकि हामीलाई काम गर्ने वातावरण बनाइदिनुहोस् ।’
उनले हालको राजनीतिक र प्रशासनिक स्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै भने, ‘यदि यस्तै अवस्थामा केही दिनसम्म मन्त्री पदमा रहिरहे भने म डिप्रेसनमा जान सक्छु ।’
मन्त्री यादवले गठबन्धन सरकारको सञ्चालन गर्दा चार दलका बीचमा समन्वयको कमी र स्थिरता नहुनुको कारण सरकार सञ्चालनमा कठिनाइ भोगिरहेको बताए ।
सरकारका विभिन्न दलहरू र तिनका मन्त्रीहरू बीचमा आपसी तानातान र असहकार्यका कारण प्रदेश सरकारको काममा अवरोध आउनु गरेको मन्त्री यादवको भनाइ थियो । उनले मुख्यमन्त्रीलाई बारम्बार आग्रह गरेको भए पनि सरकारमा समन्वय र सहकार्य कायम गर्न नसकेको गुनासो गरे ।
उनले भने, ‘सार्वजनिक रुपमा मैले बारम्बार भनेको छु कि सङ्घीयता बचाउन र मधेशको हितका लागि सबै दलहरू एकजुट हुन आवश्यक छ ।’