कोमामा रहेको बिरामी जब अस्पताल बाहिर आएर हल्ला गर्न थाल्यो…

भारत । चिकित्सकले कोमामा रहेको बिरामी उठेर हिँड्न थालेको घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भारतको मध्य प्रदेशस्थित रतलामको एक निजी अस्पतालका चिकित्सकले एकजना बिरामीलाई कोमामा रहेको बताएका थिए । तर, ती बिरामी अकस्मात उठेर अस्पताल बाहिर आएर हिँड्न थालेपछि त्यहाँ हडकम्प मच्चिएको हो ।

उनको कम्मरमा कोलोस्टमी ब्याग र नाकमा पनि पाइप लागेको भिडियोमा देख्न सकिन्छ ।

रतलामको मोती नगर घर भएका बुन्टी निनामा दिनदयाल नगर थाना क्षेत्रमा झगडाको क्रममा घाइते भएका थिए । घाइते बुन्टीलाई सुरुमा सरकारी अस्पतालमा भर्ना गरिएको थियो । तर, पछि उनलाई जीडि नामक निजी अस्पतालमा रेफर गरिएको थियो ।

त्यहाँ उनको उपचारका लागि चिकित्सकले एकलाख रुपैयाँ मागेको बुन्टीले आरोप लगाए । उनको श्रीमतिले अस्पताल प्रशासनमाथि आरोप लगाउँदै भनिन्, ‘मलाई चिकित्सकले तपाईंको श्रीमान् कोमामा रहेको बताए । १२ घन्टामा हामीले ४० हजार खर्च गर्यौँ । र, थप एक लाख लाग्ने भनेपछि पैसाको व्यवस्था गरेर अस्पताल आउँदा मेरो श्रीमान् रिसमा सडकमा उभिएको देखे ।’

घटनाबारे मध्य प्रदेशको स्वास्थ्य विभागले जाँच गर्न कमिटि बनाएको छ ।

प्रतिक्रिया
    ट्याग: