सिरहा अस्पतालमा २५ लाख लागतमा कुरुवा घर निर्माण हुँदै

सिरहा । सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा २५ लाख रुपैयाँ लागतमा कुरुवा घर निर्माण हुने भएको छ। अस्पताल परिसरभित्र बन्ने उक्त कुरुवा घरको शिलान्यास मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह र सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादवले संयुक्त रूपमा गरेका छन्।
मन्त्री सिंहले कुरुवा घर दुई करोड रुपैयाँ लागतमा पूर्ण रूपमा निर्माण हुने बताएको छ। शिलान्यास कार्यक्रममा उनले अस्पतालको पूर्वाधार विकासलाई तीव्रता दिन मधेस प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
त्यसैगरी, मन्त्री सिंहले अस्पताल परिसरमै निर्मित दुई वटा मातृसुरक्षा (मेटरनिटी) भवन तथा प्रशासनिक भवनको औपचारिक रूपमा उद्घाटन गरेका छन्। उनले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पूर्वाधार र जनशक्ति विस्तारमा सरकारले विशेष ध्यान दिएको उल्लेख गरे।
सिरहाको प्रादेशिक अस्पताल जिल्लाका नागरिकहरुका लागि प्रमुख स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास हुँदै आएको छ। नयाँ पूर्वाधार निर्माण भएपछि सेवाग्राहीलाई थप सहजता मिल्ने अस्पताल प्रशासनले जनाएको छ।

