‘कुहिएको आँप’ अर्थात ‘सडेको आँप’…डायलगको कारण राजागंजको यात्रामा ब्रेक

जनकपुरधाम । प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित नेपाली सिनेमा ‘राजागञ्ज’ सेन्सर पास हुनका लागि सिनेमामा रहेको केही दृश्य हटाउनुपर्ने भएको छ ।

चलचित्र केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) ले सिनेमाका केही दृश्यप्रति टिप्पणी गर्दै ती हटाउन सिफारिस गरेको छ । तर, निर्माण टिमले पहिलोपटक सेन्सरका लागि लगेको बेला पास नभएपछि फेरि अर्कोपटक सेन्सर बोर्डमा लगे पनि सिफारिस गरिएका दृश्य यथावत रहेको भन्दै पुनः अस्वीकृत गरिएको हो ।

समितिको सुझाव अनुसार सिनेमामा समावेश ‘कुहिएको आँप’ अर्थात ‘सडेको आँप’ भन्ने शब्दलाई हटाउन भनिएको छ । उल्लेखनीय छ, मधेश आन्दोलनको समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा यस्तै शब्द प्रयोग गरेका थिए । सोही सन्दर्भ जोडेर सिनेमामा ‘ए भनेपछि प्रधानमन्त्रीज्यू पनि अनुसन्धानको घेराभित्र पर्नुभयो त ?’ भन्ने संवाद समेटिएको छ, जसलाई हटाउन भनिएको हो ।

समितिले उल्लेखित दृश्यहरू हटाए मात्र सेन्सर पास दिने अडान लिएपछि निर्माण टिमलाई चुनौती थपिएको छ । अन्यथा, प्रधानमन्त्री कार्यालयबाट स्वीकृति लिएर आउनुपर्ने शर्त राखिएको छ ।

चैत १ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको ‘राजागञ्ज’ सेन्सर पास प्रमाणपत्र नपाएसम्म प्रदर्शन हुन नसक्ने अवस्था आएको छ । सिनेमाका लागि हलहरूले अग्रिम टिकट बुकिङसमेत सुरु गरिसकेको अवस्थामा सेन्सर पास नपाउनुले निर्माण टिमलाई थप तनाव दिएको छ ।

दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ मधेश आन्दोलन, सशस्त्र सङ्गठनका गतिविधि, अपहरण, त्रासदीपूर्ण अवस्था, राज्य र तत्कालीन सरकारको मधेशप्रति दृष्टिकोणजस्ता विषय समेटेर निर्माण गरिएको सिनेमा हो ।

यसमा दयाहाङ राई, आशा मङ्गराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चन्डक, निरज श्रेष्ठ, घनश्याम मिश्र, आरती मण्डल, पुष्पा यादव, परमेश झा, मदन ठाकुरलगायत कलाकारको अभिनय छ । नेपाली सिनेमा इतिहासमै ‘राजागञ्ज’ यस्तो सिनेमा हो, जसमा जनकपुर क्षेत्रका धेरै कलाकार संलग्न छन्, मधेशको कथावस्तु समेटिएको छ, सम्पूर्ण छायाङ्कन मधेशमै गरिएको छ, साथै संवादहरूमा मैथिली र हिन्दी भाषाको समेत प्रयोग गरिएको छ ।

पात्र चयन गर्दा मधेशका पात्रलाई वास्तविक देखाउन बनावटी मेकअपको प्रयोग नगरिएको र पात्रअनुसारका कलाकार खोजी गरी अभिनय गराइएको निर्माण टिम बताउँछ ।

यसअघि पनि मधेशकै विषयवस्तुमा बनेको निराजन मेहताको ‘मधेशीपुत्र’ सिनेमाले यस्तै सेन्सर बोर्डको चुनौती सामना गर्नुपरेको थियो ।

प्रतिक्रिया