कार्यभार सम्हाल्नु अघि शिक्षा राज्यमन्त्री यादवद्वारा सहिदलाई श्रद्धाञ्जली


काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

शुक्रबार अबेर साँझ सपथ लिए लगत्तै कार्यभार सम्हाल्नु अघि मन्त्री यादवले पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित पेरिसडाँडा पुगेकीए मन्त्री यादवले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जली दिइन् ।

पेरिसडाँडामा संक्षिप्त प्रतिक्रिया दिँदै यादवले मुलुकलाई परिवर्तनको दिशामा अगाडी बढाएर अहिलेको स्थानसम्म पुर्याउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको ठुलो योगदान रहेको बताइन् ।

उनके आफू सहिद परिवार समेत भएको, सहिदको पीडा र मर्म राम्ररी बुझेकोले देश र जनताका निम्ति बलिदानी दिएका सहिदहरूप्रति विशेष झुकाव रहेको उल्लेख गरिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा शुक्रबार मन्त्रीपरिषद विस्तारको क्रममा यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी सुम्पिएको हो ।

जनयुद्धको सुरुवातदेखि नै जनयुद्धमा सपरिवार होमिएका यादवको बुवा रामवृक्ष यादवको जनयुद्ध सुरु हुनु पुर्व नै २०५१ भदौ २ मा तत्कालीन राज्य पक्षले हत्या गरेको थियो भने यादवको परिवारबाट उनको भाइ, काका, बहिनी ज्वाईंको समेत हत्या गरिएको थियो ।

त्यस्तै उनको आमा तत्कालीन संविधानसभा सदस्य रामकुमारी यादवको ग्याँस दुर्घटनामा परि निधन भएको थियो ।

प्रतिक्रिया
नागरिक मिरर