भेष्ट किन च्यातेको भन्दै छुरा प्रहार गरी साथीको हत्या गरेपछि…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीमा होली खेल्दै गर्दा साथीको छुरा प्रहारबाट १८ वर्षीय आसु यादवको मृत्यु भएको छ।

शनिबार साँझ करिब ५ बजे होली खेल्ने क्रममा आसुले साथी धर्मेन्द्र महतोको भेष्ट च्यातिदिएका थिए। सोही विवादका कारण महतोले आसुलाई तीन ठाउँमा छुरा प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गयो।

घटनापछि आक्रोशित स्थानीयले जनकपुरधाम–भिट्ठामोड सडक अवरुद्ध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्। पीडित परिवारले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि पक्राउको माग राख्दै मृतकको शव अन्तिम संस्कार नगरी विरोध जारी राखेका छन्।

छ महिनाअघि पति गुमाएकी मृतककी आमा अर्चना यादव छोराको हत्या भएपछि शोकमा डुबेको छिन्। उनका दुई छोरीहरू अहिले अभिभावकविहीन बनेका छन्।

मुख्य आरोपी धर्मेन्द्र महतोलाई छुरासहित पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी बरुण बहादुर सिंहले जानकारी दिएका छन्। उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको छ।

स्थानीयले फरार व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न माग गर्दै विरोध जारी राखेका छन्।

प्रतिक्रिया