दसैंमा पठाओ राईडरको मनपरी, एप्लिकेशनमा अफलाईन भएर यात्रुसँग तेब्बर भाडा असुल्दै

काठमाडौं । मोबाईल एप्लिकेसनको सहायताबाट यात्रु ओसारपोसार गर्ने मोबाईल एप पठाओका राईडरहरुले दसैंमा मनपरी भाडा असुल्न थालेका छन् । चाडबाड नजिकिएसँग पठाओ राईडरहरूले यात्रुसँग तेब्बर मूल्यसम्मको भाडा असुल्न थालेको पाइएको छ ।

विशेषगरी पठाओका ट्याक्सी राईडरहरूले अहिले काठमाडौंको भिडभाड हुने ठाउँहरूमा पठाओ एप्लिकेशनबाट यात्रा गर्न आग्रह गरेपछि स्वीकार नगरी पठाओमा देखाएको भन्दा करिब ३ गुणा बढी भाडा लिएर यात्रु ओसारपोसार गर्ने गरेको यात्रुहरूको गुनासो छ ।

पठाओ राईडरहरूले यस्तो क्रियाकलाप गर्न थालेपछि दैनिकी हजारौं सर्वसाधारण ठगिन थालेका छन् । यात्रुलाई सहजताको लागि सञ्चालनमा आएको पठाओ एप्लिकेसनका सञ्चालन संस्थालाई यात्रुहरूले गुनासो गरेपनि कडाई नगरेपछि यात्रुहरू ठगिने क्रम बढेको छ ।

करिब २ वर्षदेखि पठाओ प्रयोग गर्दै आएको ललितपुर बालकुमारी बस्ने एक यात्रु रोशन कुमार यादव भन्छन्, ‘शुक्रबार काठमाडौंको सुन्धाराबाट ललितपुर बालकुमारी फर्किन करिब २ घण्टा पठाओको एप्लिेशनबाट पठाओ कार बोलाउन आग्रह गरे । तर नजिकै कारहरू रहँदा पनि एउटा पनि राईडरले आग्रह स्वीकार गरेनन् ।’

यात्रु यादव भन्छन्,–‘पठाओमा २ सय १९ देखाउँछ । तर, पठाओ कार चालक ४ सयमा पनि जान मान्दैनन् । उनीहरूले बढी पैसा कमाउने सोचले गर्दा भिडभाड देखेर अनलाईन भएर आग्रह स्वीकार गर्दैनन् भने कति सुन्धारा र न्यूरोड आउँदा अफलाईन नै हुने गर्छन् ।’ उनी थप्छन्, ‘पठाओको कार राईडरलाई पठाओको दररेट मोबाईलमा देखाउँदा उनीहरुले पठाओबाटै ट्याक्सी बोलाएर जानुस न त जवाफ फर्काउने गर्छन् ।’

यात्रुको गुनासो सुनेपछि नागरिक मिररका सम्वादाताले एक पठाओको रजिस्टर्ड राईडरलाई यसबारे बुझँन् खोज्दा पठाओको कार राईडरले हाम्रो कमाउने समय पनि यहि नै रहेको भन्दै सबैको जिम्मा आफूले नलिएको जवाफ दिए ।

सोही क्रममा उनलाई पठाओ भन्दा बढी पैसा किन लिने गरेको प्रश्न गरेपछि पठाओले गल्ती दररेट देखाउने हुँदा आफूहरूलाई घाटा हुने भएकाले पठाओले सिधा बाटोको मात्रै दररेट देखाउँने गरेको हुँदा यस्तो गर्नुपरेको बताए ।

बेलुकीको समय छ जाम छ धुमेर जानुपर्छ त्यही भएर पठाओमा देखाएको भन्दा बढी रुपैयाँ लिने गरेको स्वीकार गरेर आफू पठाओ राईडर भएपनि न्यूरोड आएपछि अफलाईन भएर बसेको ती पठाओ राइडरले बताए ।

यस विषयमा पठाओ ग्राहक सेवा केन्द्रमा गुनासो गर्दा पनि केही प्रभाव नपरेको एक यात्रुको गुनासो छ । यता पठाओले यस्तो क्रृयाकलाप गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने बताए ।

त्यस्तै पठाओका केही राईडरहरूले त भने एप्लिकेशन मार्फत यात्रुसँग सम्पर्क गरेर यात्रुहरूलाई राईड क्यान्सिल गराएर पठाओलाई प्राप्त हुने पठाओ राईड वापतको सेवा शुल्क पनि छलि गरिरहेको देखिएको छ ।

सार्वजनिक यातायतमा भिडभाड, असुरक्षा र ढिलाई हुने गरेपछि केही समय यता यात्रुहरुको रोजाईमा पठाओ पर्न थालेको छ ।

यस विषयमा पठाओ सञ्चालक संस्था समयमै केही प्रतिकृया न जनाए पठाओ र यात्रु दुबै ठगिने क्रम बढ्ने यात्रुहरूको गुनासो छ ।

प्रतिक्रिया
नागरिक मिरर