राजर्षि जनक विश्वविद्यालयको परीक्षा तालिका पुनरावलोकन गर्न मुस्लिम विद्यार्थीहरूको माग

जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयको परीक्षा तालिका पुनरावलोकन गर्न मुस्लिम विद्यार्थीहरूले माग गरेका छन्। विश्वविद्यालयमा अध्ययनरत मुस्लिम विद्यार्थीहरूले आफुहरुको एक महिने कठोर पर्व रमजानलाई मध्यनजर गर्दै परीक्षा तालिका पुनरावलोकन गर्न आग्रह गरेका हुन्।

तालिकाअनुसार ईद पर्वकै दिन पनि परीक्षा परेकाले त्यसलाई पुनरावलोकन गर्न माग गरिएको छ। विश्वविद्यालयले मुस्लिम विद्यार्थीहरू माथि अन्यायपूर्ण निर्णय गरेको आरोप लगाउँदै विश्वविद्यालयमा अध्ययनरत कानून संकायका छात्र मो. नइम राइनले परीक्षा तालिका पुनरावलोकन गर्न आग्रह गरेका छन्। उनले मुस्लिम विद्यार्थीहरूको हकअधिकारलाई ध्यानमा राखी विश्वविद्यालयले परीक्षा तालिका परिमार्जन गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार इस्लाम धर्मावलम्बीहरूका लागि रमजान महिना अत्यन्तै पवित्र मानिन्छ, जसको अन्त्यमा ईद उल–फित्र पर्व मनाइन्छ। रमजान महिनाको अवधि २९ वा ३० दिनसम्म हुने भएकाले ईदको मिति निश्चित हुँदैन। “यस वर्ष ईद चैत १८ वा १९ गते पर्ने सम्भावना छ,” राइनले भने । तर यस्तो महत्वपूर्ण धार्मिक अवसरका बीच विश्वविद्यालयले परीक्षा तालिका सार्वजनिक गर्दा मुस्लिम विद्यार्थीहरूको धार्मिक स्वतन्त्रतालाई बेवास्ता गरेको देखिएको उनले बताए।

परीक्षा ईद पर्वकै दिन पारिएकाले विद्यार्थीहरूलाई परीक्षा वा धार्मिक पर्वमध्ये एक रोज्न बाध्य पारिएको उनको भनाइ छ। यसले उनीहरूको मौलिक अधिकारमा प्रत्यक्ष असर पर्ने राइनले बताए।

उनले शिक्षण संस्थाले धार्मिक सहिष्णुता कायम गर्दै सबै विद्यार्थीलाई समान अधिकार दिनुपर्ने भएकाले परीक्षा तालिका पुनरावलोकन गरी चैत २० गतेपछि मात्र परीक्षा सञ्चालन गर्न आग्रह गरेका छन्।

राइनका अनुसार यसले धार्मिक आस्थाको सम्मान मात्र नभई समावेशी शिक्षालाई पनि प्रवद्र्धन गर्नेछ।

प्रतिक्रिया