मधेसका श्रम मन्त्री रायलाई पार्टीले दोश्रो पटक स्पष्टिकरण माग्दै भन्यो – तपाईंलाई कारवाही किन नगर्ने?

जनकपुरधाम । मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायलाई पार्टीले अनुशासन उल्लङ्घनको आरोप लगाउँदै दोस्रो पटक स्पष्टिकरण माग गरेको छ।

सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा प्रदेश सभा क्षेत्र नं. २(ख) बाट निर्वाचित मन्त्री रायमाथि संघीय निर्वाचनदेखि हालसम्म विभिन्न विचारधाराका राजनीतिक समूहका कार्यक्रमहरूमा सहभागी हुने, पार्टी नेतृत्व र नेताहरूविरुद्ध अनावश्यक आरोप तथा टिप्पणी गर्ने आरोप लागेको छ। पार्टीले उनको यस्तो गतिविधिले संगठनलाई कमजोर बनाउनुका साथै पार्टीको प्रतिष्ठामा आँच पु¥याएको ठहर गर्दै स्पष्टिकरण मागेको हो।

सर्लाही क्षेत्र नं. ४ को क्षेत्रीय कार्यसमितिबाट गत कार्तिक ७ गतेमा प्रमाणसहित उजुरी परेपछि उनलाई पहिलो पटक फागुन ६ गते स्पष्टीकरण सोधिएको थियो। तर, तोकिएको समयसम्म कुनै प्रतिक्रिया नआएपछि जिल्ला अनुशासन समितिले दोस्रो पटक तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।

जिल्ला अनुशासन समिति संयोजक डा. सरोज कुमारले पठाएको पत्रमा, पार्टीको विधान अनुसार अनुशासन उल्लङ्घनका कारण कारबाही किन नगर्ने भनी स्पष्टीकरण मागिएको उल्लेख छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीका एक नेताका अनुसार मन्त्री रायको गतिविधिप्रति विभिन्न समयहरूमा प्रश्न उठ्दै आएको छ। उनलाई पार्टीले पटक–पटक सचेत गराएको भए पनि उनले सुधार नगरेको भन्दै पुनः स्पष्टिकरण सोधिएको बुझिएको छ।

प्रतिक्रिया