सस्तोको लोभमा विष पिउँदै उपभोक्ता, बजारमा अखाद्य पानीको छ्यापछ्याप्ती

जनकपुरधाम । मानव स्वास्थ्यमा सबैभन्दा धेरै रोग फैलाउने कारणमध्ये प्रमुख कारक हो– दूषित पानी। यही सन्दर्भमा पछिल्लो समय उपभोक्ताहरु सुरक्षित रहनका लागि किनेरै भए पनि प्रशोधित पानी प्रयोग गर्न थालेका छन्। लगभग हरेक घरको भान्सामा हाल प्रशोधित पानीको प्रयोग भइरहेको छ।
तर, उपभोक्तामा पानीको गुणस्तरबारे आवश्यक ज्ञानको कमी र बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण सर्वसाधारणले पैसा तिरेर पनि शुद्ध पानी पाउन सकेका छैनन्। सस्तोको मोहमा व्यवसायीहरुले अखाद्य पानी नै बजारमा बेचिरहेका छन्। जुन उपभोक्ताका लागि विष समान बन्दै गएको छ।
एक दशकदेखि जनकपुर नजिकै मिथिला विहारी नगरपालिका–१०, ठेरामा श्री बालाजी ड्रिकिङ वाटर उद्योग सञ्चालन गर्दै आएका सञ्जय कुमार झा भन्छन्, “पानीको व्यवसाय बाहिरबाट हेर्दा जति सजिलो र नाफामूलक देखिन्छ, भित्रको अवस्था त्यति सहज छैन। जलस्रोतमा धनी देश नेपालमा किन किनेर पानी खानुपर्ने अवस्था आयो? शुद्धताको खोजीमा। तर, आजभोली बोतल वा जारमा प्याक गरिएको मात्र आधारमा उपभोक्ताले शुद्ध सम्झन थालेका छन्, जुन ठूलो भ्रम हो।”
झाका अनुसार बजारमा विक्रीका लागि राखिएका सबै पानी पिउन योग्य हुँदैनन्। त्यसैले, उपभोक्ताले प्रयोग गर्नुअघि पानीको गुणस्तर प्रमाणित प्रयोगशालामा परीक्षण गर्नु आवश्यक रहेको उनको सुझाव छ।
“पानी बेचेर छिटो पैसा कमाइन्छ भन्ने भ्रममा धेरैको आकर्षण यो व्यवसायमा देखिएको छ,” उनले अनुभव सुनाउँदै भने, “तर, व्यवसाय सञ्चालनपछि गुणस्तर कायम राख्न सजिलो हुँदैन भन्ने थाहा हुन्छ। त्यसपछि लगानी बचाउनकै लागि जसरी भए पनि पानी प्याक गरी बेच्न थालिन्छ। बेच्नेले त कमायो, तर उपभोक्ता पैसा तिरेर पनि अशुद्ध पानी पिउन बाध्य हुन्छ।”
झाले व्यवसायको नाममा नागरिकको स्वास्थ्यसँग खेलवाड गर्नु अक्षम्य अपराध भएको बताउँदै, आफूले सञ्चालन गरिरहेको उद्योग हेर्न सबै उपभोक्ता र सरोकारवालाहरुलाई खुला निम्तो पनि दिए।
यता, सरकारी कार्यालयदेखि होटल रेस्टुरेन्टसम्मले समेत सस्तो पाइने लोभमा गुणस्तरविहीन पानी प्रयोग गरिरहेको अवस्था देखिन्छ। “पानी सस्तो पाइयो भन्नेमा खुसी हुने, र किन सस्तो हो भन्ने जाँच नगर्ने प्रवृत्ति नै मुख्य समस्या हो,” उनले भने, “पढेलेखेका उपभोक्ताहरु समेत मूल्य मात्र हेरेर निर्णय गरिरहेका छन्, जुन घातक मूर्खता हो।”






