अमेरिकामा दादुराको प्रकोप बढ्दै: ३ को मृत्यु, ६ सय ५० सङ्क्रमित

एएफपी । अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा दादुराको प्रकोपले थप एकजनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार आइतवारसम्म दादुरा रोगका कारण ६ सय ५० सङ्क्रमित भएका छन् ।

“भर्खरै दादुरा भएको पत्ता लागेको एक विद्यालय उमेरका बच्चाको निधन भएको खबर सुनेर हामी निकै दुःखी छौँ”, टेक्सासको मेडिकल सेन्टर, युएमसी हेल्थ सिस्टमका उपाध्यक्ष आरोन डेभिसले भने ।

अमेरिका वर्षौंको सबैभन्दा खराब दादुरा प्रकोपसँग जुझिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले खोपको महत्त्वलाई कम आँक्ने आफ्नो विगतको बयानबाजीले स्वास्थ्य विज्ञहरूलाई चिन्तित बनाएको छ ।

तथापि केनेडीले आइतवमर एक्समा ‘दादुरा फैलन रोक्ने सबैभन्दा प्रभावकारी तरिका एमएमआर खोप हो’ भनेर लेखेका छन् ।

उनले आफ्नो स्वास्थ्य तथा मानव सेवा (एचएचएस) विभाग र रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरू (सिडिसी) ले टेक्सासमा खोप वितरणलाई सहयोग गरिरहेको बताए ।

आइतवारसम्म ‘२२ राज्यमा दादुराका छ सय ४२ जनामा संक्रमण पुष्टि भएकोमा चार सय ९९ टेक्सासमा’ रहेको बताइएको छ ।

टेक्सासले गत फेब्रुअरीको अन्त्यमा पहिलो पटक दादुराबाट बच्चाको मृत्यु भएको रिपोर्ट गरेको थियो । लगभग एक दशकमा यस रोगबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो ।

गत महिना न्यु मेक्सिकोका एक वयस्कको मृत्युलाई पनि सिडिसीले दादुरासँग सम्बन्धित मृत्युका रूपमा वर्गीकृत गरेको थियो ।

सिडिसीले अप्रिल ३ मा भनेअनुसार सिडिसीले गणना गरेका दादुराका अधिकांश मामिलाहरू – ९७ प्रतिशत – दादुरा विरुद्ध खोप नलगाएका बिरामीहरू हुन् ।

तीमध्ये एक सय ९६ जना पाँच वर्ष मुनिका, दुई सय ४० जना ५–१९ वर्षका र थप एक सय ५९ जना २० वर्ष वा सोभन्दा बढी उमेरका थिए भने अन्य केही अज्ञात उमेरका थिए ।

‘प्रकोप’ लाई तीन वा बढी सम्बन्धित मामिलाका रूपमा परिभाषित गर्ने सिडिसीले सन् २०२५ मा अहिलेसम्म छ वटा प्रकोप रेकर्ड गरेको छ । पुष्टि भएका मामिलामध्ये करिब ९३ प्रतिशत ती प्रकोपहरूसँग सम्बन्धित छन् ।

प्रतिक्रिया
    ट्याग: