प्रधानमन्त्री ओली आज मधेश आउँदै, मधेश प्रदेश सभा र सिरहा जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने

सिरहा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मधेश प्रदेश आउँदै छन् ।
उनको प्रदेश सभा र सिरहामा हुने नेकपा एमालेको ११औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीको बिहान साढे १० बजे हेलिकप्टरमार्फत् जनकपुर आइपुग्ने कार्यक्रम छ । त्यसपछि उनले मधेश प्रदेश सभामा पुगेर साढे ११ बजेबाट सभा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओलीको प्रदेश सभा सम्बोधनको तयारीलाई भव्य बनाइएको छ।
सभाहलमा कार्पेट बिछ्याउने, कुर्सीहरूको मर्मत सम्भार गर्ने, बाहिर गेट बनाउनेलगायतका कामहरू भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाको सम्बोधन पछि उनी नेकपा एमालेको ११औं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन सिरहा सदरमुकामतर्फ प्रस्थान गर्नेछन् ।
अधिवेशन सिरहा स्थित श्री सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसको मैदानमा आयोजना हुनेछ ।
कार्यक्रममा हजारौँ कार्यकर्ता तथा समर्थकहरू सहभागी हुनेछन् । नेकपा एमाले मधेस प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठका अनुसार जिल्लाका १७ वटै पालिकाबाट करिब ५५ हजार कार्यकर्ता उतार्ने तयारी गरिएको छ । कार्यक्रममा अन्य पार्टीका हजारौँ समर्थक एमाले प्रवेश गर्ने अपेक्षा पनि गरिएको छ ।
सिरहाका कार्यवाहक जिल्ला अध्यक्ष डा. नविन कुमार यादवले पार्टी अध्यक्ष ओलीको आगमनका कारण अधिवेशनलाई विशेष र ऐतिहासिक बनाउने तयारी भइरहेको बताए ।
उनका अनुसार अधिवेशनले पार्टीको साङ्गठानिक सुदृढीकरण र आगामी रणनीतिहरूको निर्धारणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।






