डोमिनिकन रिपब्लिकः नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २१८ पुग्यो

एएफपी । डोमेनिकन रिपब्लिकस्थित एक नाइटक्लबमा छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २१८ पुगेको छ ।

प्रख्यात डोमिनिकन मेरेन्गु गायक रुबी परेज जेट सेट नामक नाइट क्लबको मञ्चमा गाइरहेको अवस्थामा मङ्गलवार मध्यरातमा छत भत्किँदा परेजका प्रबन्धकसमेतको मृत्यु भएको थियो । यसअघि बुधवार दिइएको जानकारीमा करिब १०० जनाको मृत्यु भएको जनाइएको थियो ।

उक्त घटनापछि कार्यक्रमस्थलमा फसेका कम्तीमा २०० जनाको उद्धार गरिएको थियो भने दर्जनौँ मानिस घटनापछि आँफै सुरक्षित स्थलमा भाग्न सफल भएका थिए । स्थानीय मिडियाका अनुसार दुर्घटना हुँदा क्लबमा पाँच सयदेखि एक हजार मानिस थिए ।

मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेको जनाइएको छ । उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेका थिए ।

पेरेजकी छोरी जुलिन्काले छाना भत्किएपछि भाग्न सफल भएको पत्रकारलाई बताए ।

राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरेका थिए भने तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । उनका अनुसार मृतकमा मोन्टे क्रिस्टी नगरपालिकाको गभर्नर नेलसी क्रुज पनि थिए ।

प्रतिक्रिया