पूर्व राजा ज्ञानेन्द्रले भनेः नेपाली जनतामा देश र भविष्यलाई लिएर भएको जागरुकता सकारात्मक छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रमा राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने गरेको बताएका छन् ।
आइतवार नयाँ वर्षको अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गर्दै उनले मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्याउँदै आएको बताए ।
उनले चैत १५ घटनाबारे बोल्दै भने, ‘घटनामा भएको क्षतिले आफूलाई दुःखी बनाएको छ । नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।’
उनले नयाँ वर्ष २०८२ मा नेपाली जनताले चाहे अनुसारको काम हुनेछ भन्दै नेपालीमा उत्पन्न भएका निराशा, गुनासोलाई सम्बोधन होस् भन्ने आफ्नो कामना रहेको पनि बताए ।
उनले भने, ‘वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुसरणीय छ । देशलाइ विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्षमा ०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ । मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मुल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ ।’
वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मन्जुरी सधैंव स्थापित हुनुपर्दछ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ? सन्तुलित कुटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मुल सार हो । यही नै राजनीतिको मूल धार हुनुपर्ने उनको शुभकामना सन्देशमा भनिएको छ ।
उनले भने, ‘जनभावना र जनचाहना बुझि मुलुकको समग्र संरचनामा नै हेरफेर गर्नुपर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीमा आमुल परिवर्तन र सुधार गरी यीनको आधुनिकीकरण अनिवार्य भएको छ । युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्नेछ । सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्छ ।’