२० दिन पैदल हिँडेर काठमाडौंमा आन्दोलन गरिरहेका समूह र सरकारबीच सहमति

काठमाडौं । काठमाडौंको माइतिघर मण्डलामा विगत ११ दिनदेखि अनसनरत अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छन् ।

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता सम्बन्धमा सरकारले छानबिन समित गठन गरेसँगै खानले आज १२ औं दिन अनसन तोडेकी हुन् ।

दुवै महिलामाथि भएको अन्यायका सम्बन्धमा छानबिनका लागि समिति गठन गर्ने र समितिले दिएको सुझावलाई अक्षरशः पालना गर्ने सहमति भएपछि आन्दोलनरत पक्षले आन्दोलन र अनसन स्थगित गरेको हो ।

अधिकारकर्मी रुबी खानले माइती नेपालका संरक्षक अनुराधा कोइराला, मानव अधिकारकर्मी मोहना अन्सारी, गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको रोहबरमा अनसन तोडेकी छन् ।

उनी अनसनरत रहेको त्रिवि शिक्षण अस्पतालमा पुगेर सहमति गरेपछि जुस खुवाएर अनसन तोडाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

उनले छानबिन समितिलाई ७ दिनको म्याद दिएर प्रतिवेदन बुझाउन निर्देशन दिइएको र समितिलाई मन्त्रीस्तरीय निर्णयले दुवै घटनाको अध्ययन, अनुसन्धान गरी राय–सुझाव पेश गर्ने कार्यादेश दिइएको बताए ।

मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा आज छानबिन समिति गठन भएको हो ।

समितिका सदस्यहरूमा नेपाल प्रहरीका उपरीक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धान केन्द्रका निर्देशक धिरेन्द्रसिंह कार्की, कानूनका उपसचिव रामप्रसाद लम्साल, आन्दोलनरत पक्षका तर्फबाट मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत प्रतिनिधि छन् ।

धोबी र कुर्मी प्रकरणमा गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगञ्जदेखि २० दिन पैदल हिँडेर काठमाडौं आएका अधिकारकर्मी र आफन्तले माइतीघरमा १२ दिनदेखि धर्ना दिइरहेका थिए भने आन्दोलनको नेतृत्व गरिरहेकी खान ११ दिनदेखि अनसनमा थिइन् ।

घरेलु हिंसाबाट पीडित भई मृत्युवरण गरेकी नन्कुन्नी धोबीको मृत्युमा दोषी रहेका ४ जनालाई पक्राउ गरी अनुसन्धान र कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

त्यस्तै, निर्मला कुर्मीको अपहरण, शरीर बन्धक बनाई बेपत्ता पारिएको घटनाका दोषीहरूलाईसमेत पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेर आन्दोलनमा थिए ।

प्रतिक्रिया
नागरिक मिरर