संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा तीन शीर्ष नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल भएको छ ।
विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा शनिवार तीन शीर्ष नेताबीच छलफल भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।
छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।






