राप्रपाले आज बिजुलीबजारमा प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्दैछ । सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले आज निषेधित क्षेत्र तोड्ने तयारीसहित प्रदर्शन गर्न लागेको हो ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आजको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन् ।

मध्यान्ह १२ बजेबाट सुरु हुने राप्रपाको प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दा सामूहिक गिरफ्तारी दिने तयारीसहितको निर्णय गरेको एक नेताले बताएका छन् ।

यसैबीच, गृह मन्त्रालयले राप्रपाले निषेधिक क्षेत्र तोड्ने तयारी गरेको भन्दै चेतावनी जारी गरेको छ ।

मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै संविधान र कानूनको ठाडो उल्लङ्घन गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ ।

साथै मन्त्रालयले त्यस्तो गतिविधिमा संलग्न हुने जोकोहीलाई कानून बमोजिम कारबाही हुने पनि चेतावनी दिएको छ ।

प्रतिक्रिया