राप्रपा अध्यक्ष लिङ्देनले भनेः हामी जे गर्छौं भनेरै गर्छौं, सरकार नडराए हुन्छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हाम्रो प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ। वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्दैछ । सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले आज निषेधित क्षेत्र तोड्ने तयारीसहित प्रदर्शन गर्न लागेको हो ।
राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि गृह मन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै निषेधित क्षेत्र तोड्न खोजे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।






