जलेश्वर कारागारमा कैदीबन्दीलाई पौष्टिक आहार वितरण, आत्मनिर्भर बनाउन सिपमूलक तालिम पनि

महोत्तरी । जलेश्वर कारागारमा रहेका कैदीबन्दीलाई स्वास्थ्य सुदृढीकरणका लागि पौष्टिक आहार वितरण गरिएको छ। कारागार प्रशासनको पहलमा अंगुर, चना, केरा, स्याउ लगायतका खाद्यवस्तु वितरण गरिएको हो।
कारागारमा रहेका करिब दुई सय जना गरिब, विपन्न, अशक्त र ज्येष्ठ नागरिक कैदीबन्दीलाई राहतस्वरूप पौष्टिक आहार वितरण गरिएको कारागार प्रशासक अशोक कुमार क्षेत्रीले जानकारी दिए। “स्वस्थ जीवनशैलीका लागि पौष्टिक आहार अत्यावश्यक हुन्छ,” प्रशासक क्षेत्रीले भने, “यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।”
यस्तै कारागारमा रहेका कैदीबन्दीलाई आत्मनिर्भर बनाउन सिपमूलक तालिमसमेत सञ्चालन गरिएको थियो। एक महिना अघि घरेलु कार्यालय जलेश्वरको समन्वयमा मैनबत्ती बनाउने तालिम संचालन गरिएको थियो। कैदीबन्दीहरुलाई दुई समूहमा विभाजन गरी ३०–३० जना तालिम दिइएको प्रशासक क्षेत्रीले जानकारी दिए।

उनका अनुसार यस प्रकारका सिपमूलक तालिमले कैदीबन्दीमा जेलमै बसेर आयआर्जन गर्ने क्षमता विकास हुँदैछ। “यसले उनीहरूलाई आत्मनिर्भर बनाउने मात्र होइन, समाजमा पुनःस्थापनाका लागि पनि सकारात्मक योगदान पु¥याउनेछ,” क्षेत्रीले भने।






