आजबाट चारधाम यात्रा सुरु हुँदै

भारत । आजबाट चारधाम यात्रा सुरु हुँदैछ । अक्षय तृतियाको शुभ अवसर पारेर चारधाम यात्रा सुरु हुन लागेको हो ।
आगामी ६ महिना तीर्थयात्रीले यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथको दर्शन गर्नेछन् ।
चारधाम यात्रालाई विश्वकै सबैभन्दा पवित्र तीर्थ यात्रामध्यको एक मानिन्छ । चारधाम यात्राको सबै पवित्र स्थल फरकफरक देवीदेवताको रुपमा समर्पित छन् । केदारनाथ धाम १२ ज्योतिर्लिङ्गमध्यको एक र यो भगवान शिवलाई समर्पित हो । त्यस्तै बद्रीनाथ धाम भगवान विष्णुलाई समर्पित छ । गंगोत्री माता गंगा र यमुनोत्री माता यमुनालाई समर्पित रहेको छ ।
अक्षय तृतियाको शुभदिनमा आज गंगोत्री धामको ढोका बिहान १० बजेर ३० मिनटमा खोलिनेछ भने यमुनोत्रीको ढोका बिहान ११ बजेर ५० मिनटमा खोलिनेछ । त्यस्तै केदारनाथ धामको ढोका २ मे शुक्रवार बिहान ७ बजे र बद्रीनाथको ढोका ४ मे आइतवारका दिन खोलिने छ ।
चारधाम यात्राको सुरक्षा व्यवस्था यसपटक निकै कडा बनाइएको छ । काश्मिरको पहलगाममा पर्यटकमाथि भएको आक्रमण पछि चारधाम यात्रा मार्गमा झन्डै ८ हजारभन्दा बढी सुरक्षाकर्मी तैनात गरिएका छन् । जसमा भारतीय प्रहरी, फायर ब्रिगेड, होमगार्ड, पीएसी, एसडीआरएफ, पीआरडी लगायतका रहेका छन् ।






