कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थप ११ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ शुभारम्भ गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा १५ वटा वडा सो कार्यक्रम सुरु गरिएको थियो । यसवर्ष ११ वटा वडा थपिएका हुन् । अब छवटा वडामा कार्यक्रम कार्यान्वयन हुन बाँकी रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

शुक्रवार राष्ट्रिय सभागृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले, गत आर्थिक वर्षमा उद्यमी बन्नुभएका सहभागी र प्रशिक्षकलाई प्रमाणपत्र वितरण गर्दै चालु आर्थिक वर्षको तालिम कार्यक्रम शुभारम्भ गरेकी हुन् ।

उनले, उत्पादित सामानको बजारीकरणका लागि वडास्तरीय कोसेलीघर स्थापना गरिएको जानकारी दिइन् । गत वर्ष कामपाको वडा नं. १ र ३० को नमूना उद्यम गुन्द्रुक र मस्यौरा थियो भने वडा नं.. २ को मस्यौरा र तितौरा, वडा नं. ३ र ४ को फेल्टको सामान, वडा नंं. ५ को सेरामिक्सका सामान बनाउने, वडा नं. ७ को क्रिष्टल तथा पोतेको गहना बनाउने उद्यम थिए ।

त्यसैगरी वडा नं. ८ मा दुना टपरी र रुद्राक्षको ढक्की बनाउने, वडा नं. ९ मा रुद्राक्षको माला र धुप बनाउने, वडा नं. १० मा मस्यौरा र अचार बनाउने, वडा नं. १२ मा सुकुल बनाउने, वडा नं. १६ मा काष्ठकला, वडा नं. २१ मा कटाँकी मूर्ति कुँद्ने, वडा नं. २२ मा जुत्ता बनाउने, वडा नं. २४ मा मखमलका सजावटका सामान बनाउने र वडा नं. ३२ मा अचार बनाउने उद्यम सञ्चालनमा छन् ।

यस वर्ष थालिएका ११ वटा वडाहरू वडा नं. ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन् । यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मरीचरी (मिठाइका परिकार) उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, सचिका (धागो), सुर्के थैली र रिबनका फूल बनाउने, पपेट बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबीसेट र गाउन सिलाउने, यमरी, फ्रोजन मःमसहित खाद्यवस्तु उत्पादन र छालाको जुत्ता तयार गर्ने उद्यम सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया