विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ धनुषाद्वारा निःशुल्क स्वास्थ्य परीक्षण र रक्तदान

जनकपुरधाम। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकारहरूको स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम गरेको छ। शनिबार बिहान रामचौक, जानकी मन्दिर, जनकचौक हुँदै प्रभातफेरी गरी मधेश प्रदेश सरकार मातहत रहेको जनस्वास्थ्य प्रयोगशालामा पुगेर निःशुल्क स्वास्थ्य शिविर र रक्तदान गरेका छन्।

स्वास्थ्य शिविरमा पत्रकारहरूको बिएमआई, मधुमेह, उच्च रक्तचाप, हेमोग्लोबिन, मिर्गौला जाँच, महिला पत्रकारहरूका लागि पाठेघरको मुखको स्क्रिनिङसहित नसर्ने रोगहरुको निशुल्क उपचार गरिएको छ।

स्वास्थ्य परीक्षणबाट पाँच दर्जनभन्दा बढी पत्रकारहरूले सेवा लिएको नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरण साहले जानकारी दिएका छन्। उनका अनुसार सोही कार्यक्रममा १२ जना पत्रकारहरूले रक्तदान गरे ।

अध्यक्ष साहले अबदेखि हरेक वर्ष कुनै न कुनै सन्दर्भ पारेर यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया