आजदेखि संसदमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आजदेखि आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
यस्तै राष्ट्रिय सभामा भने सरकारको उक्त नीति तथा कार्यक्रममाथिको छलफल भने आइतवारबाटै प्रारम्भ भइसकेको छ । आजको बैठकमा पनि उक्त कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रिय सभाको बैठक भने दिउँसो १ः १५ बजे बस्ने कार्यसूची छ ।






