नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा विवाद उत्पन्न, स्थिति तनावग्रस्त

जनकपुरधाम । नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशनमा विवाद उत्पन्न भएको पछि स्थिति तनावग्रस्त बनेको छ ।
गत शनिवारदेखि जनकपुरमा जारी अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएपनि अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद उत्पन्न भएको हो ।
सोमवार राति नै मनोनयन दर्ता भएको थियो । तर, आज उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद सुरु भएको बुझिएको छ ।
अध्यक्षमा भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ ।
उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन् ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।
आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोके पनि तयारी नपुग्दा बिहान १० बजेको लागि तय गरेको थियो । तर, उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान सुरु हुन सकेको छैन ।






