गहवामाईको रथ यात्रा असारको दोस्रो साता हुने

पर्सा । वीरगञ्जको प्रख्यात गहवा माईको तेस्रो रथ यात्रा आगामी असारको दोस्रो साता हुने भएको छ ।
गहवामाई तीर्थ क्षेत्र विकास समितिका आयोजनामा आगामी असार १३ गते हजारौं दशनार्थीहरुका उपस्थितिमा रथयात्रा गर्न लागिएको हो ।
समितिका अध्यक्ष श्यामकुमार पोखरेलले विभिन्न उपसमित गठन गरेर रथयात्राको तयारी तिव्र पारिएको जानकारी दिए । ‘‘विगत दुई वर्षदेखि वीरगञ्जमा ५० हजारभन्दा धेरै दशनार्थीहरुको उपस्थितिमा गहवामाई रथयात्रा गर्दै आइरहेका छौं,’’ उनले भने, यो वर्षपनि पनि विगतका वर्षमा जस्तै भव्य र सभ्य ढंगले रथयात्रा गर्ने तयारीमा जुटेका छौं ।’’
समितिले रथयात्रालाई व्यवस्थित र मर्यादित गराउनको लागि विभिन्न नौ उपसमिति पनि गठन गरेको छ । धार्मिक समन्वय उपसमितिको संयोजक डा.पुरुषोत्तम दुवेले यसपटकको रथयात्रामा करिव ८० हजारभन्दा धेरै श्रद्धालु भक्तजनहरुको सहभागिता अपेक्षा गरिएको जानकारी दिए ।
‘‘गहवामाई वीरगञ्जको प्रख्यात गहवामाई प्राचीन महत्वको धरोहर भएकाले पनि रथयात्रा गर्न लागिएको हो’’ उनले भने, ‘‘भारतको जगन्नाथ पुरीमा जस्तै गरी वीरगञ्जको गहवामाई मन्दिरको पनि रथयात्रा निकाल्ने परम्पराको विकास गरेका छौं । यसले यहाँको पर्यटकीय स्थलको प्रचारप्रसारमा समेत सहयोगी हुने अपेक्षा गरेका छौं ।’’
असार १४ गते ५६ भोग र भण्डारा (प्रसाद) वितरण कार्यक्रम समेत राखिएको छ ।
मधेश प्रदेशमा नै प्रसिद्ध रथयात्रा भएकाले पनि रथयात्रामा साधुसन्त,महिलाहरुको उल्लेखनीय सहभागिता जनाउनेछन् । धार्मिक समन्वय समितिका संयोजक दुवेले धर्म,संस्कृति र संस्कार जोगाउन पनि रथयात्रा गर्दै आइरहेको दावी गरे ।
‘‘हाम्रो धर्म,संस्कृति र आस्था जोगाउनलाई जोगाउनको लागि पनि रथ यात्रा गर्न लागिएको हो,’’ उनले भने,‘‘ धर्म संस्कृति नयाँ पुस्ताका पिढीँलाई हस्तान्तरण गर्नका लागि आवश्यक भएकाले पनि गर्न लागेका हौं ।’