एमाले धनुषामा भोला यादवको नेतृत्व विजयी

जनकपुरधाम । धनुषा जिल्लाको नेकपा एमाले नेतृत्वमा भोला यादव फराकिलो मतान्तरले अध्यक्षमा निर्वाचित भएका छन्। बुधबार जनकपुरस्थित महेन्द्र नारायण निधि स्मृति भवनमा आयोजित एमाले जिल्ला अधिवेशनमा केन्द्रिय नेता रघुवीर महासेठ पक्षको प्यानल विजयी भएको हो।
निर्वाचनमा महासेठ पक्ष र अर्का नेता उमाशंकर अरगरिया पक्षबीच प्रतिस्पर्धा भएको थियो। अध्यक्ष पदमा भोला यादवले ४०२ मत प्राप्त गर्दै जित हासिल गर्दा उनका प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले २०० मत मात्र प्राप्त गरे।
उपाध्यक्षमा तेजनारायण यादवले ४३० मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी जय प्रकाश सुनरैतले १६० मत पाए। सचिवमा दिपनारायण ठाकुरले ३६५ मत प्राप्त गर्दै निर्वाचित भए भने विपक्षी धिरेन्द्र मण्डलले १४० मतमा सीमित रहे। उपसचिवमा सविन विक्रम थापा निर्वाचित भएका छन्।
यस अधिवेशनमा महासेठ पक्षको प्यानलले सबै पदमा स्पष्ट बहुमतसहित जित दर्ता गरेको हो।






