हार्वर्ड विश्वविद्यालयद्वारा ट्रम्प प्रशासनमाथि मुद्दा दायर

काठमाडौँ । अमेरिकाको हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनमाथि मुद्दा दायर गरेको छ ।
ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना कार्यक्रम रद्द गरेपछि विश्वविद्यालयले शुक्रवार मुद्दा दायर गरेको बीबीसीले जनाएको छ ।
बिहीवार मात्रै अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा अमेरिकाको सबैभन्दा पुरानो हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भर्नामा रोक लगाइएको जानकारी दिएका थिए । उनले हार्वर्डले कानूनको पालना नगरेका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भर्ना कार्यक्रम रद्द गरिएको पनि बताए ।
हार्वर्ड विश्वविद्यालयले भने सरकारको उक्त कदमलाई गैरकानूनी बताउँदै ट्रम्प प्रशासनको उक्त कदमले हजारौँ विदेशी विद्यार्थीको भविष्यमाथि असर पार्ने भन्दै मुद्दा दायर गरेको हो ।
हार्वर्ड विश्वविद्यालयका अनुसार गत शैक्षिक सत्रमा ६ हजार ७ सयभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीले भर्ना गराएका छन् । यो कुल विद्यार्थीको २७ प्रतिशत हो ।






