जनकपुरधाममा साँढेको झगडामा परी एकजनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा साँढे जुधिरहेका बेला स्कुटर दुर्घटनामा परी एक व्यक्तिको ज्यान गएको छ।

जनकपुरधाम उपमहानगरपालिका–७ निवासी अन्दाजी ५० वर्षीय सत्तार राइनको दुर्घटनामा परि मृत्यु भएको हो। स्कुटरबाट लडेर गम्भीर घाइते भएका राइनलाई उपचारका लागि तत्काल जानकी हेल्थ केयर लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।

राइन राति करिब साढे ८ बजे मधेश प्रदेश–०२–००७ प ९२६६ नम्बरको स्कुटरमा घरतर्फ जाँदै गर्दा जनकपुरधामको पेठियाबजार क्षेत्रमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले बताए। उनका अनुसार घटनास्थलमा दुई साँढे एक आपसमा जुधिरहेका थिए, त्यही बेला अनियन्त्रित भएर उनी स्कुटरसहित लडेका थिए।

यस घटनापछि जनकपुरधाममा छाडा चौपाया व्यवस्थापनप्रति स्थानीय सरकारले पर्याप्त चासो नदेखाएको भन्दै स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन्। यसअघि पनि छाडा गाई, साँढे, र बाछाबाछीका कारण दुर्घटनाको जोखिम बढिरहेको सर्वसाधारणले गुनासो गर्दै आएका थिए।

प्रतिक्रिया