नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, निर्वाचन समितिको कार्यतालिका पारित गर्ने तयारी

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

आसन्न महाधिवेशनको तयारी तथा अन्य विविध राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।

यसअघि हिजो पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको छ । ती एजेन्डा आज केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी रहेको पनि उनले बताए । साथै आजको बैठकले निर्वाचन समितिको कार्यतालिका समेत पारित गर्नेछ ।

बैठकमा महाधिवेशन सफल बनाउन व्यवस्थापकीय समिति बनाउनेबारे छलफल भएको उनले बताए ।

महाधिवेशन सम्पन्न गर्नका लागि विधानमा भएका केही व्यवस्थालाई निलम्बन गरिएको र त्यसको निर्णय गराउने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गरिने उहाँले बताए ।

प्रवक्ता शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी छ ।

यसैगरी विदेशस्थित जनसम्पर्क समितिले पठाएका क्रियाशील सदस्यको नाम अनुमोदन केन्द्रीय समितिले गर्ने भएको छ । प्राप्त हुन नसकेका देशका जनसम्पर्क समितिलाई निश्चित अवधि उपलब्ध गराउने जनाएको छ ।

यस्तै मङ्सिर २४ देखि २६ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने एजेन्डा पनि केन्द्रीय समितिमा पेश गरिनेछ ।

यस्तै बैठकमा गठबन्धनले बनाएको राजनीतिक समिति, न्यायालयलगायतबारे पनि छलफल हुन सक्ने सम्भावना रहेको छ ।

पदाधिकारी बैठकमा न्यायालयका विषयमा पनि कुरा उठेको बताउँदै प्रवक्ता शर्माले केन्द्रीय समिति बैठकमा यस विषयमा थप छलफल हुन सक्ने बताए ।

प्रतिक्रिया
नागरिक मिरर