प्रदेश २ सरकारको साइकल खरिद प्रक्रियामा अनियमितताको आशङ्का, दोस्रो चरणमा अनुसन्धान हुने
काठमाडौं । प्रदेश २ सरकारको साइकल खरिद प्रक्रियाबारे अनियमितताको आशङ्का देखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा परेको उजुरीका आधारमा गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो ।
छापापछि कागजात जफत गरेर सुरु गरिएको अनुसन्धानको पहिलो चरणमा अनियमितताको आशङ्का देखिएको अख्तियार बर्दिवास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले नागरिक मिररलाई बताए ।
उनले भने, ‘पहिलो चरणको अनुसन्धान सकिएको छ । पहिलो चरणको अनुसन्धानमा साइकल खरिदमा अनियमितताको आशङ्का देखिएपछि विस्तृत अनुसन्धानका लागि दोस्रो चरणमा अनुसन्धान सुरु हुनेछ । साइकल खरिदमा अनियमितता भएको हो वा होइन भन्ने विषय दोस्रो चरणको अनुसन्धानपछि मात्रै पुष्टि हुन्छ । पहिलो चरणमा आशङ्का मात्रै गरिएको हो ।’
उनले अनुसन्धान पूरा भएपछि अनियमितता भएको पाइएमा उक्त कार्यक्रममा संलग्नमाथि मुद्दा दायर हुने पनि बताए ।